काठमाडौं । फ्रान्सेली अधिकारीहरूले निकारागुवा जाने यात्रीहरूको विमान रोक्दा पर्दाफास भएको मानव तस्करी गर्ने गिरोहका प्रमुखहरू पत्ता लगाउन काम गरिरहेको भारतीय प्रहरीले शुक्रबार बताएका छन् ।
इन्धन भर्नका लागि रोकिएको एयरबस ए३४० लाई गत हप्ता पेरिसपूर्वको भट्री विमानस्थलमा रोकिएको थियो ।
विमानमा मानव तस्करीका सम्भावित पीडितहरूलाई लैजाँदै गरेको भन्ने अज्ञात सूचना प्राप्त भएपछि संयुक्त अरब इमिरेट्स (यूएई) बाट आएको विमानलाई रोकिएको थियो । विमानमा सवार ३०३ यात्रुमध्ये अधिकांश सोमबार भारत फिर्ता भएका छन् ।
गुजरात राज्यका प्रहरी उपरीक्षक सञ्जय खरातका अनुसार यात्रुहरूले दक्षिण अमेरिकाबाट अमेरिकाको दक्षिणी सीमासम्म पुग्न सहयोग गर्नका लागि एजेन्टहरूलाई ४ लाखदेखि १२ लाख भारतीय रुपैयाँ (४८ हजारदेखि १ लाख ५० हजार अमेरिकी डलर) प्रदान गरेका थिए ।
‘उनीहरू एजेन्टको सम्पर्कमा कसरी आए वा एजेन्टहरूले उनीहरूसँग कसरी सम्पर्क गरे र निकारागुवा पुगेपछि उनीहरूको योजना के थियो भन्ने हामी जान्न चाहन्छौं,’ उनले भने । खरातका अनुसार भारत फर्किएका २७६ यात्रुमध्ये ६६ जना गुजरातका थिए र प्रहरीले उनीहरूसँग सोधपुछ गरिरहेको छ ।
‘हामीले अवैध र्याकेटमा केही जानकारी दिनसक्ने व्यक्तिको पहिचान गरेका छौं र उनीहरूसँग सोधपुछ भइरहेको छ,’ उनले भने ।
विमानमा सवार अधिकांश अन्य यात्रु भारतको उत्तरमा रहेको पञ्जाब राज्यका थिए । पञ्जाबको प्रहरीले पनि अनुसन्धान गरिरहेको बताएको छ । पञ्जाब प्रहरीका अतिरिक्त महानिर्देशक एलके यादवले भने, ‘कुनै गैरकानूनी कुरा हाम्रो ध्यानमा ल्याइए अनुसन्धान गर्न हामी बाध्य हुन्छौं र हामीले यो मुद्दाको अनुसन्धान गरिरहेका छौं ।’
विमान रोमानियाली चार्टर कम्पनी लिजेन्ड एयरलाइन्सले सञ्चालन गरेको थियो र यात्रुहरूको जाँचका लागि विमानलाई भट्री विमानस्थलमा राखिएको थियो । फ्रान्समा रोकिएका २ व्यक्तिसँग मानव तस्करीको आशंकामा त्यहाँको प्रहरीले सोधपुछ गरेको थियो ।