काठमाडौं । समाजवादी मोर्चामा आबद्ध चार दलका युवा सङ्गठनले राष्ट्रियताको रक्षा र भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् ।
माओवादीको वाइसिएल, एकीकृत समाजवादीको युवा सङ्घ, जसपाको समाजवादी युवा सङ्घ र नेकपाको युवा सङ्गठनले संयुक्त अभियान सञ्चालन गर्ने भएका हुन् ।
वाइसिएल अध्यक्ष सुबोध सिर्पालीले भ्रष्टाचार नियन्त्रण, व्यवस्था विरोधीविरुद्ध वैचारिक प्रतिवाद, युवाका समस्या सम्बोधनलगायत विषयमा संयुक्त रूपमा अगाडि बढ्ने बताए । ‘भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदम स्वागतयोग्य छ ।
भ्रष्टाचार विरोधी जनमत तयार पार्न हामी लाग्नेछौँ । यसका साथै समाजवादी मोर्चालाई तल्लो कमिटीसम्म विस्तार गर्दै छौँ ।
हामी छिट्टै सातै प्रदेशको बैठक राखेर युवा मोर्चा विस्तार गर्छौँ,’ उनले भने, ‘युवाका समस्या समाधानका लागि सशक्त भूमिका खेल्नुका साथै व्यवस्थाका विरुद्धमा लागेकाहरूको सामूहिक रूपमा वैचारिक प्रतिवाद गर्नेछौँ ।’
अन्तरक्रिया र जनजागरण अभियान सञ्चालन गर्दै अघि बढ्ने युवा सङ्गठन नेपालका अध्यक्ष पाटन सीले बताए । उनले भने, ‘राष्ट्रियताको रक्षा, लघुवित्त र मिटरब्याजीपीडितका समस्या, भ्रष्टाचारविरुद्ध सरकारी कदमसहित युवाका समस्याका विषयमा अन्तरक्रिया र जनजागरण अभियान सञ्चालन गर्दै छौँ,’ सीले भने ।
समाजवादको लक्ष्यमा पुग्न प्राप्त उपलब्धिको रक्षा गर्दै अगाडि बढ्ने उनले बताए । समाजवादी मोर्चा बनेपछि चार युवा सङ्गठनको दुई पटक बैठक बसेको छ ।
पहिलो बैठक वाइएसिएलका अध्यक्ष सुबोध सिर्पालीको अध्यक्षतामा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो भने दोस्रो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलो नगरमा युवा संघका कार्यवाहक अध्यक्ष कृष्ण विश्वकर्माको अध्यक्षतामा बसेको छ ।