कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको नगरसभा तथा १५औं अधिवेशनमा शुक्रबार प्रस्तुत ५ विधेयक सर्वसम्मत स्वीकृत भएका छन् ।
नगर सभामा निर्णायार्थ प्रस्तुत विद्युतीय तथा अटो रिक्सा दर्ता (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी) विधेयक, स्थानीय संघसंस्था दर्ता विधेयक, शुक्लाफाँटा नगरपालिका तथ्यांक तथा अभिलेख व्यवस्थापन विधेयक पारित भएका छन् ।
शुक्लाफाँटा नगरपालिका सार्वजनिक–निजी साझेदारी विधेयक र शुक्लाफाँटा नगरपालिकाको सहकारी ऐन २०७५ संशोधन विधेयक पारित भएका छन् ।
नगर सभामा पेश गरिएका वडा शाखा र नगरस्तरीय योजना तथा कार्यक्रम संशोधन, परिवर्तन, थप रकमान्तर, सोधान्तर सम्बन्धी एजेण्डा सर्वसम्मतिले पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले बताए ।
अधिकृत भट्टका अनुसार स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र वडा कार्यालयबाट नियुक्त करारका कर्मचारीको व्यवस्थापन सम्बन्धी प्रस्तुत प्रस्ताव नगर सभाले पारित गरेको छ । नगर सभाले पारित गरेका विधेयक राजपत्रमा प्रकाशित भएपछि ऐनका रूपमा लागू हुने उनले जानकारी दिए ।
नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख रणबहादुर महराले देशकै नमूना नगरपालिका बनाउनका लागि सबैको सहयोगको अपेक्षा राखेको बताए ।
‘सुशासन, विकास निर्माणमा अब्बल, हरित र स्वच्छ नगरपालिकाका रूपमा विकसित गराउनका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्छ,’ नगर प्रमुख महराले भने, ‘त्यसका लागि नगर सभाका सबै सदस्यको सहयोगको खाँचो छ, सबै एकजुट भएर अगाडि बढे समृद्ध नगरपालिका बनाउन सकिन्छ ।’
नगर उपप्रमुख कल्पना पन्तले विकास निर्माणलाई गुणस्तरीय तुल्याउँदै छिटोछरितो रूपमा सम्पन्न गर्ने परिपाटीको विकास गरिनुपर्ने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टले जिल्लामै नगरपालिका उत्कृष्ट रहेको दाबी गरे । प्रत्येक वर्ष नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन र कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट रहँदै आएको उनले जानकारी दिए ।
विगतका जस्तै उत्कृष्ट कार्य गर्नका लागि विगतका राम्रा कार्यलाई यस वर्ष पनि निरन्तरता दिई छिटोछरितो, चुस्तदुरुस्त बनाइएको उनले बताए । सुदूरपश्चिम प्रदेशमै सबैभन्दा पहिले (छिटो) नगरसभा गर्ने नगरपालिका शुक्लाफाँटामा भएको छ ।