काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूले शनिबार बिहान बालुवाटारमा संयुक्त रूपमा भेट गरी संविधानले व्यवस्था गरेका संघीय अधिकारहरू कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
भेटमा मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै नेपालको संविधानमा व्यवस्था भएका साझा अधिकार सूची प्रयोगको व्यवस्था मिलाउन, गत असारमा पोखरामा सम्पन्न मुख्यमन्त्री सम्मेलनको निष्कर्ष कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माण नेपाल सरकारको मात्र एकल दायित्व नभएर संघीय संसद र राजनीतिक दलहरूको साझा दायित्व भएकोमा जोड दिँदै राजनीतिक सहमतिका लागि प्रधानमन्त्री प्रचण्डले समन्वय गर्नुपर्ने बताए ।
मुख्यमन्त्रीहरूसँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले संघीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले संघीय कानूनहरू निर्माणका निम्ति आफू गम्भीर रूपमा लागिरहेको बताए ।
उनले भने, ‘तपाईंहरू सबै जानकार नै हुनुहुन्छ । मैले नै संघीय गणतन्त्रको परिकल्पना गरेको थिएँ, त्यसका निम्ति संघर्ष गरेको थिएँ । त्यसलाई संविधानमा लिपिबद्ध गर्न समेत मैले भूमिका खेलेको छु, नेतृत्व लिएको छु । त्यसैले संघीयता कार्यान्यवन मेरो सबैभन्दा ठूलो चासो र प्राथमिकताको विषय हो । खाली यो कसरी कार्यान्वयन गर्ने, संसद्मा सहभागी सबै दलहरूलाई पनि सहमत गराएर कसरी अगाडि बढ्ने भन्ने विषयले मात्र समय लिएको हो ।’
सरकारले संघीय निजामती ऐन, संघीय शिक्षा ऐन, प्रहरी समायोजन ऐन लगायतका संघीयता कार्यान्वयन सम्बन्धी ऐनहरू निर्माणका लागि द्रूतताका साथ काम गरिरहेको उनले बताए । उनले भने, ‘विधेयकहरू प्रस्तुत पनि भइसकेका छन् । अब छलफलको माध्यमबाट त्यसलाई निष्कर्षमा लैजान बाँकी छ । शीर्ष राजनीतिक तहमा छलफल गरेर त्यसलाई टुंगो लगाउन थप पहल गर्नेछु ।’