पोखरा । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नारासहित पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा आजदेखि पोखरा सडक महोत्सव सुरु भएको छ ।
महोत्सव २५ वर्ष पुगेसँगै रजत जयन्तीका अवसरमा यस वर्ष थप आकर्षण हुने आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले जनाएको छ ।
अंग्रेजी पुरानो वर्षको बिदाइ र नयाँ वर्ष स्वागतार्थ आयोजना गरिने पोखरा सडक महोत्सव १६ गतेसम्म अर्थात जनवरी १ सम्म सञ्चालन हुनेछ ।
महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरू, स्वदेशी हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, कृषि, वनस्पति लगायतका कृषि उपज सामग्रीहरूको प्रदर्शनी, बाल उद्यान, पोखराका विभिन्न साहसिक खेलकुदहरूको डकुमेन्ट्री प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवद्र्धनात्मक प्रस्तुती समेत रहने रेवान पोखरा अध्यक्ष नरेशबहादुर भट्टराईले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने अध्यक्ष भट्टराईले बताए । उनका अनुसार महोत्सवमा देशका सातै प्रदेशका पहिचान झल्किने सांस्कृतिक टोली अन्तर्गत चितवनबाट थारुहरुको भेषभुषा सहितको थारु स्टिक नाच, सिन्धुलीबाट महिलाहरूको पञ्चेवाजा, रुकुमबाट मयुर नृत्य, शसस्त्र प्रहरीको व्याण्ड बाजा, नौमती पञ्चेबाजा, गुरुङ छेडु नृत्य, त्रिवेणी समूहको संगीत, राई लिम्बु जातिको धान नाच, नेवार जातिको लाखे नृत्य, शिव भजन, मगर जातीको कौडा नाच, झलकमान समूहको संगीत, जोजिजु समूहको संगीत रहनेछन् ।
हिमाली सांस्कृतिक परिवारको सांस्कृतिक कार्यक्रम, एसके डान्स ग्रूपकोे सांस्कृतिक कार्यक्रम, काठमाण्डुबाट आउने कलाकारको इस्टुमेन्टल संगीत, विभिन्न जातजातिको मौलिक भेषभुषा सांस्कृतिक कार्यक्रम सहितको झाकी प्रदर्शनी लगायतका प्रतियोगिता पनि महोत्सवमा हुनेछन् ।
महोत्सवको अवसरमा पर्यटक दौड प्रतियोगिता, डुंगा खियाउने प्रतियोगिता, खुला दौड प्रतियोगिता, रेस्टुरेण्टका कर्मचारीबीच वेटर रेस प्रतियोगिता, डोरी तान्ने (टग अफ वार) प्रतियोगिता, भलिबल प्रतियोगिता, बालबालिकाका लागि चित्रकला प्रतियोगिता, स्पुन रेस प्रतियोगिता, कोकाकोला तथा बियर पिउने प्रतियोगिता, मःमः तथा ससेज खाने प्रतियोगिता पनि हुने रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए ।
महोत्सवको अवसरमा यस वर्ष पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरूको विषयमा टक शो कार्यक्रम हुने महासचिव भट्टराईले बताए ।
महोत्सवको करीब ५ लाख पर्यटकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक रेवान पोखराको अपेक्षा छ । त्यसका लागि आवश्यक प्रचारप्रसार तथा तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।
पोखरामा आन्तरिक पाहुना भित्र्याउने सबैभन्दा ठूलो पर्यटकीय गतिविधि नै सडक महोत्सव रहेको भन्दै आयोजकले यसपटक भित्रिने पाहुनाको संख्या अघिल्ला वर्षभन्दा झनै बढी हुने जनाएको छ ।
पर्यटकलाई लक्षित गरेर आयोजकले होटल तथा रेष्टुरेण्टको व्यवस्थापन गरिसकेको जनाएको छ ।
पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ रूपमा आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन गर्ने, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामग्रीहरूको संरक्षणका साथै प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको शहीद चोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे ३ किलोमिटर क्षेत्रफलमा सडक महोत्सव गर्न लागिएको आयोजक रेवान पोखराले जनाएको छ ।