काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठुला नेता र प्रहरीका उच्च अधिकारीहरूको संलग्नता रहेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै उनले मिटरब्याजीको संरक्षक राजनीतिक दलका ठुला नेताहरू भएको बताएका हुन् ।
उनले सो प्रकरणमा राष्ट्र सेवक कर्मचारी र प्रहरीका उच्च पदस्थ कर्मचारीहरू संलग्न रहेको आरोप लगाएका हुन् । मिटरब्याजविरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उनले बताए ।
‘मिटरब्याजीको प्रकरण धेरै गम्भीर विषय हो । यसमा राष्ट्रसेवक, उच्च पदस्थ कर्मचारी संलग्न छन् । राजनीतिक दलका ठुला नेताहरूको संरक्षणमा यी कामहरू भएका छन्,’ उनले भने, ‘प्रहरीका उच्च अधिकारीहरू संलग्न छन् । सामन्तवादको अवशेषको रूपमा अहिले पनि छ । त्यस कारण यसका विरुद्धमा राम्रो नीति, ऐन बन्नुपर्छ ।’
मिटरब्याजपीडितहरूलाई न्याय दिन र पीडकहरूलाई कारबाही गर्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताए र ‘आज सरकारले मिटरब्याजपीडितहरूलाई न्याय दिन होइन । झुक्याउनका लागि यो विधेयक सदनमा पेस गरेजस्तो गर्दै छ । पीडितहरूप्रति न्याय दिने इमानदारिता देखिएको छैन भन्ने कुरा यसले पुष्टि गर्छ,’ उनले भने, ‘राष्ट्रिय सभाले फास्ट ट्र्याकमा पास ग¥यो । अहिले प्रतिनिधिसभामा आएको छ । सांसदको हातमा आजसम्म पनि यो विधेयक छैन । हामीले वैचारिक, सैद्धान्तिक छलफल गर्दै छौं । चाहिने डकुमेन्ट हामीसँग छैन तर पनि छलफलमा बस्नुपर्ने अवस्था छ ।’
उनले प्रतिनिधिसभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजपीडितलाई न्याय दिनका लागि नभई झुक्याउनका लागि ल्याएको बताए ।