धनकुटा । अंग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा ११औं खाना महोत्सव आजदेखि सुरु भएको छ ।
होटल एसोसिएसन भेडेटारद्वारा आयोजित महोत्सव १७ गतेसम्म जारी रहने छ ।
कोशी प्रदेशको पर्यटन तथा वन वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले महोत्सवको शुभारम्भ गर्दै महोत्सवले प्रर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । महोत्सवमा स्थानीय खाना, अग्र्यानिक खेतीबाट उत्पादित सागसब्जी, फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्रीको २५ कक्ष छन् ।
स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति महोत्सवमा रहने आयोजकले जनाएका छन् ।
महोत्सवमा १ करोड बराबरको कारोबार हुने अनुमान गरिएको महोत्सव आयोजक संस्थाका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । भेडेटारका होटलमा महोत्सव अवधिभर खाना तथा लजमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक समितिका सचिव लालबहादुर श्रेष्ठ (रमेश) ले जानकारी दिए ।
हरेक वर्षझैं महोत्सवमा भारतको विहार लगायत पूर्वी तराईबाट पर्यटक भेडेटार आइपुगेका छन् । उनीहरूले स्थानीय स्तरमा उत्पादित खानपान र परिकारका स्वाद लिन पाउनेछन् । पर्यटकहरूले साँगुरीगढी, पाथीभरा मन्दिर, नाम्जे गाउँ, नमस्ते झरना, ध्वजेडाँडा शूलीकोट, मोरङे राजाको दरबार, खिबेकलुङ लगायत स्थान घुम्न र जिपलाइन, प्याराग्लाइडिङ लगायत साहसिक खेलको आनन्द लिन सक्नेछन् । भेडेटारमा जाडोमा दैनिक २ हजारसम्म र गर्मीमा ७ हजारसम्म आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका होटल एशोसिएशन भेडेटारको तथ्यांक छ ।