काठमाडौं । नाइजरको बुर्किना फासोसँग सीमामा रहेका २ गाउँमा संदिग्ध जिहादीहरूले सप्ताहन्तमा गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले बताएको छ ।
‘धेरै मोटरसाइकलमा आएका आतंकवादीहरू बैंकिलारेबाट करीब ३० किलोमिटर दक्षिणपूर्वी आमरा र आउडजी गाउँमा प्रवेश गरेका थिए, त्यहाँ उनीहरूले शान्तिपूर्ण नागरिकहरूमाथि आक्रमण गरी ११ जनाको हत्या गरे,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
नाइजेरियाई रक्षा तथा सुरक्षा बलहरूले शुक्रबार ‘बहु हवाई–स्थल आक्रमणहरू’ गरेपछि यो हत्या भएको हो । सुरक्षा बलको आक्रमणपछि मन्त्रालयले यसबाट आतंकवादीहरूको सञ्चार च्यानल ‘केही पनि नरहेको’ बताएको थियो ।
गस्तीको गाडी नियामेदेखि ७० किलोमिटर टाढा ओरो गुएलाडजोमा एउटा खानीमा ठोक्किँदा शुक्रबार १ सैनिकको मृत्यु र ५ जना घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।
नाइजरमा सैन्य विद्रोहपछि जुलाईदेखि सेनाले शासन गर्दै आएको छ । डिसेम्बर १७ मा सैन्य विद्रोहका नेता तथा शासक जनरल अब्दुरहामाने तियानीले मुलुकको सुरक्षा स्थिति ‘प्रगतिशीलरूपमा सामान्य’ भइरहेको भन्दै शान्ति व्यवस्था कायम गर्न सेनाले ‘धेरै सफलता’ हासिल गरेको बताएका थिए ।
सैन्य तथा स्थानीय स्रोतहरूका अनुसार पछिल्ला केही हप्तामा बुर्किना फासो र मालीको सीमासँग जोडिएका क्षेत्रमा अपेक्षाकृत शान्ति देखिएको छ । यी क्षेत्रमा यसअघि बारम्बार जिहादी आक्रमणको खतरा थियो ।
अक्टोबरमा बुर्किना फासोको सीमा नजिकै जिहादीहरूसँग भएको झडपमा ६ सैनिक मारिएका थिए । सोही महिना पश्चिमी नाइजरमा भएको १ हमलामा २९ सैनिक मारिएका थिए । यो सैनिक विद्रोहपछिको सबैभन्दा घातक हमला थियो ।