काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले संसद् आम नागरिकका बारेमा गम्भीर नभएको बताए ।
आइतबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पौडेलले विधेयक बनाउने, कानुन बनाउने बारेमा जुन ढङ्गले सक्रियता देखाउनुपर्ने त्यसो गर्न नसकेको बताए ।
उनले सरकारले मुलुकलाई आवश्यक कानुन बनाउन समेत नसकेको आरोप लगाए । उनले भने, ‘वित्तीय कानुन जति आवश्यक छ त्यसलाई निर्माण गर्न सकेको छैन । यसलाई सरकार र सदनले गम्भीर रूपमा ध्यान दिनुपर्छ।’
एउटा अधिवेशनमा कति वटा विधेयक सरकारले अनिवार्यरुपमा पेस गर्नुपर्ने हो यसबारे अनिवार्य संख्या तोक्नुपर्ने उनको भनाइ छ। ‘एउटै विधेयक पेस नगरीकन संसद्को अधिवेशन अन्त्य हुने कुरा स्वाभाविक हुँदैन। समस्या धेरै छन्। धेरै समस्या हुँदा हुँदै केही नभएको जस्तो गरी सामान्य ढङ्गले चल्ने कुरा स्वीकार्य हुँदैनन्। त्यसैले पास गर्नुपर्ने विधेयकको संख्या तोक्औं।’
उनले हरेक विधेयकमा दफावार छलफल आवश्यक रहेको बताए। संसदीय नियमावली संशोधन गर्नुपर्ने उनको भनाइ छ । सांसद पौडेलले भने, ‘सबै विधेयकमा छलफल आवश्यक छ । छलफल गर्ने तर छलफलमा उठेका विषयहरू संशोधन गर्न नपाइने। संसारमा कुनै पनि कुरा पूर्ण हुँदैनन् । यस्तो परम्परा तौडौं । नियमावलीमा भएको जुन परम्परा छ यसलाई बदलौँ।’
पौडेलले मुलुकमा लोकतन्त्र ,गणतन्त्र आए पनि मिटरब्याजीलाई नआएको बताए। ‘उनीहरू ठगिए। साहुले अदालत प्रयोग गरेर उनीहरूलाई थप दुस्ख दिए। बाउन्स चेकमा सिग्नेचर गराएर उनीहरूलाई मुद्दा हाले। अदालतले साहुको पक्षमा फैसला गर्छ।’