काठमाडौं । रमेश भण्डारीको कथा आफ्नै छ । जुम्लामा जन्मिएका भण्डारीलाई जीवनमा नआउने र गर्न नजान्ने कुरा केही पनि छैन । उनी फूटबल खेल्न, भलिबल खेल्न र ब्याडमिन्टन खेल्न पोख्त छन् ।
१० वर्षको उमेरमा पिङ बनाउनका लागि डोरी बाँध्न ओखरको रुख चढ्दा लडेका उनले दुर्गम ठाउँमा भएकाले समयमै उपचार नपाउँदा हात नै गुमाउनुप¥यो । २०३६ सालमा जन्मिएका उनी ४६ सालमा १० वर्षका थिए । छुट्टिको बेला ओखरको रुखमा पिङ लगाउन चढेका उनी ओर्लिंदाखेरी रुखबाट नझरेर हाँगाबाट झर्न खोजेका थिए । त्यही बखत उनको हात चिप्लियो र ढुंगामा बजारिएको थियो ।
२०४६ सालमा जुम्लामा स्वास्थ्य र सडकको सुविधा थिएन, एउटा मात्र हवाई उडान हुन्थ्यो । त्यो पनि १ महिनापछि कहिले हुन्थ्यो, कहिले हुँदैन्थ्यो । गाउँमा डाक्टर समेत नभएकाले उनले उपचार पाउने कुरै भएन । एक त दशैंतिहारको बेला थियो । त्यसबेला उनलाई गाउँका जेठाबाले काम्म्रो बाँधिदिएका थिए । ती जेठाबा गाईवस्तुको मात्र काम्म्रो बान्ने मान्छे रहेछन् ।
जेठाबाले कलिलो हातमा बाँधिदिएको काम्रोले काम गरेन । अझ घाउँ बल्झिँदै गयो । रक्तसञ्चार नै नभएको रहेछ । गाउँमा भइहाल्छ नि १–२ दिनमा भन्नेहरू पनि थिए तर उनको हात निको हुने कुनै छाँट नै भएन । बरु झन् घाउँ बल्झिएर गयो र उनले उपचारका लागि काठमाडौं आउने विचार गरे ।
समयमै हवाइ उडान नभएका कारण उनले १ महिना दुःखेको घाउँ थामेर बस्नुपरेको थियो । लडेको २ महिनापछि उनी बल्ल काठमाडौं आए तर उनको हातमा क्यान्सर भइसकेको रहेछ । उनको परिवार त्यो कुरा सुन्दा छाँगाबाट खस्यो । पत्याउने कुरै थिएन तर सत्यलाई कसले पो रोक्न सक्छ र !
हात काटेको त्यो दिन
२०४५–४६ सालमा चरम जनआन्दोलनको बेला थियो । जनतामा सचेतना समेत थिएन । प्रजातन्त्र नआएकै अवस्था भएकाले देशको अवस्था भने ज्यादै कष्टपूर्ण थियो । त्यति नै बेला हस्पिटलमा उनको हात काटियो । उनको शरीरमा क्यासर फैलिने खतरा भएपछि हात काटिएको थियो ।
१० वर्षको बेला उनलाई त समाजको सोचाइबारे केही थाहा भएन तर उनका बुवाले उनको हात काट्ने बेलामा धेरैपटक गाउँलेलाई सम्झिए । जो उनका कुरा काट्ने थिए । उनले आफन्त, सत्रु, मित्र सबैलाई सम्झिए भन्ने कुरा उनका बुवाले उनी ठूलो भएपछि सुनाएका थिए । अन्ततः उनको हात कटियो । उनी गाउँ फर्किंदा गाउँमा हात काटिएको कुरा फैलिसकेको रहेछ । उनलाई कसैले ‘पूर्व जन्मको पाप’ समेत भन्न भ्याएका थिए ।
‘बुवालाई गाउँलेले म जन्मिएकोभन्दा नजन्मिएको बेस हुन्थ्यो भन्न समेत भ्याएका रहेछन्,’ उनी सम्झिन्छन्, ‘अलिक पछि त मलाई पनि फिल हुँदै गयो । समाजले हेर्ने दृष्टिकोण पनि फरक भएको पाए ।’
उनी जाडो–गर्मी दुवै बेलामा ज्याकेट लगाएर हिन्थे । धेरै पछिसम्म पनि लाज मानेर हात नदेखाउने र सार्वजनिक ठाउँमा जान समेत मन नलाग्ने हुन्थ्यो उनलाई तर आर्थिक रूपमा मध्यम वर्गीय परिवारमा जन्मिएकाले अन्यभन्दा धेरै हेला भने भोग्नु नपरेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘सचेतना भएको र मध्यम वर्गीय परिवार भएकाले गाउँलेले अरुको तुलनामा मलाई त्यतिधेरै तनाव दिएनन् । म दलित परिवार र गरीब परिवारमा भएको भए कस्तो कष्ट भोग्नुपर्ने थियो होला ? एक हात नभएको मान्छे भनेर डाइरेक्ट भने बोलाएनन् तर भित्रभित्रै भने आफैंलाई फिल भयो ।
साथीहरूबाट बाहिरी रूपमा पनि त्यो व्यवहार देखिएन तर भित्र भने कसले पो बाँकी राख्दो रहेछ र ? उनीहरू र ममा केही फरक छ भन्ने सोच्दा रहेछन् । मलाई पनि संकोच लाग्थ्यो । बिस्तारै सचेतना आएपछि केही पनि होइन रहेछ जस्तो भयो ।’
सरकारी सेवामा प्रवेश
२०५२ सालमा एसएलसी पास गरे उनले । इन्टर पढेपछि तत्काल २०५४ सालमा एकाउन्टेन्टमा नाम निकालेर सरकारी जागिरे भए । उनको मुगुमा पदस्थापन भयो । पदीय दायित्व निर्वाह गर्दा उनलाई कुनै बाहिरी रूपमा तनाव नदिए पनि भित्रि रूपमा भने तनाव नै हुन्थ्यो । हुन त उनले नजानेको कुरा केही थिएन । उनी चुङ्गी खेल्दा पनि प्रथम हुन्थे, भलिबल, फूटबल, ब्याडमिन्टन तथा अन्य खेलमा पनि प्रथम हुन्थे । त्यो कारण पनि उनले भनेको कुरा अरुले मान्नुपर्ने थियो र मान्थे पनि । सबैले ‘आइडल’ मान्छन् ।
कर्मचारीतन्त्र भनेको स्थायी सरकार हो । कर्मचारी समायोजन ऐन २०७५ सालमा आयो । यो ऐन आउँदाखेरी नै त्यो बेला स्थानीय तह प्रदेश र संघीय ऐन आइसक्नुपर्ने थियो तर यो ऐन जारी नहुँदा धेरै समस्या आएका छन् । उनले पनि यो ऐन नआउँदा धेरै समस्या भोग्नुपरेको बताए ।
उनी भन्छन्, ‘म नेपाल सरकारको कर्मचारी हुँ तर कहाँ जाने, के गर्ने गन्तव्यविहीन अवस्थामा काम गरिरहेको छु । ऐन नआएर कर्मचारीहरू कहाँ–कहाँ भौंतारिएका छन् । कर्मचारीलाई नै कहाँ बस्ने, कहाँ खाने ? ठेगान छैन । यसले गर्दा अन्योलको अवस्था छ ।
२०७३–७४ सालमा नै कर्मचारी समायोजन ऐन आउनुपर्ने थियो । अहिलेसम्म नआएर राजनीतिक अवस्था अन्योल देखिएको छ ।’ संघीयता व्यवस्थापन गर्ने सरकार र ठूला दलले नचाहेको उनी बताउछन् । भण्डारीका अनुसार सबैभन्दा ठूलो हात भनेको ट्रेड युनियनका लिडरहरूका हो । प्रदेश सेवा ऐन बनाउन समेत संघीय ऐनले रोकेको बताउँदै शासन व्यवस्था अनुसारको ऐन आउनुपर्ने उनको माग छ ।
उनी भन्छन्, ‘ऐन नआएर कर्मचारीमा निराशा बढिसक्यो, अब त सरकारलाई पनि लाज लाग्नुपर्ने हो ।’
‘आवश्यकता र रुचिले सिकें’
हालको कारणले उनले कुनै पनि कामबाट वञ्चित भने हुनु परेन । पदीय दायित्व निर्वाह गर्दा होस् या कुनै काममा उनी पोख्त थिए । उनको कामको लगनशिलता र जवाफदेहिताले गर्दा पनि उनलाई अहिलेसम्म अप्ठ्यारो अवस्था आएको छैन ।
उनी १ हातले बाइक तथा स्कुटी र गाडी समेत चलाउँछन् । आवश्यकता नै आविष्कारको जननी भएकाले पनि आवश्यकता परेका कारण सिकेको उनी बताउँछन् ।
उनी पौडी, भलिबल, फूटबल लगायतका खेलमा समेत पोख्त छन् । उनले कर्मचारी प्रशासनको राष्ट्रिय खेलमा समेत सहभागिता जनाएर खेलिसकेका छन् । भण्डारी आफ्नो रुचिको क्षेत्र भएकाले पौडी समेत अन्य मान्छेजस्तो मज्जाले गर्न सक्ने बताउँछन् ।
अब उनको इच्छा आफ्नो जागिरलाई बिट मारेर राजनीतिमा आउने छ । हाल उनी एकीकृत कर्मचारी युनियनको केन्द्रीय लेखा आयोगको सदस्य छन् ।