काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, काठमाडौंका नापी सर्भेक्षक र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सर्भेक्षक रमेश उपरकाेटी र अविशेक कार्कीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएकाे हाे ।
जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएकाे टोलीले उनीहरूलाई नियन्त्रणमा लिइएकाे हाे ।
उनीहरूलाई १ लाख ७५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएकाे प्रवक्ता भोला दाहालले जानकारी दिए ।
प्रवक्ता दाहालका अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिइ आरोपपत्र दायर गरिएको छ ।



























