कञ्चनपुर । महाकाली करिडोरअन्तर्गत कञ्चनपुरदेखि दार्चुला खण्डमा हालसम्म २४१ किलोमिटर ट्रयाक खोलिएको छ ।
अब डडेल्धुरा, बैतडी र दार्चुलामा ९३ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए ।
‘बाँकी स्थानमा तीव्र गतिमा ट्रयाक खोलिएको छ । रुख कटानको आदेश आएको छ,’ आयोजना प्रमुखले भने, ‘ट्रयाक खोलिएको खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ ।’
डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ । डडेल्धुरा खण्डमा २ हजार ६ रुख काट्नुपर्नेछ ।
बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ । दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्र्याक निरन्तर रूपमा काम भइरहेको आयोजनाले जनाएको छ । ट्रयाक खोलिएको ३७ किलोमिटर खण्डमा कालोपत्रका लागि सडक स्तरोन्नतिको काम पनि जारी छ ।
‘डडेल्धुरा खण्डको ५ किलोमिटर स्तरोन्नतिको काम चालू आर्थिक वर्षमा सकिन्छ,’ आयोजना प्रमुख जोशीले भने, ‘दार्चुला खण्डमा अहिले सडक चौडा गर्ने र नाली बनाइरहेका छौं ।’ महाकाली करिडोरअन्तर्गत पर्ने १९ हजार ६६ रुख काट्नुपर्ने उनले बताए ।
करिडोर बनेपछि सुदूरपश्चिमको कायाकल्प हुने स्थानीयको विश्वास छ । विक्रम संवत् २०६५/०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्रयाक खुलेको छैन । कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई तराईसँग जोड्ने छ ।
कञ्चनपुरदेखि दार्चुलासम्म ४२५ किलोमिटर सडक निर्माण हुनेछ । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ । तुसारपानीदेखि तिंकरसम्म ९१ किलोमिटर सडकको ट्रयाक नेपाली सेनाले खोलिरहेको छ । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको महाकाली करिडोरको काम चाँडो पूरा गर्न स्थानीयले माग गरेका छन् ।
‘महाकाली करिडोर बन्ने भनेर सुनेको दशकौं भइसक्यो । अहिलेसम्म बनेको छैन । यो बाटो निर्माण भए हामीलाई धेरै सजिलो हुन्छ,’ भीमदत्त नगरपालिका–९ खल्लाका श्याम बुढाले भने, ‘त्यसैले करिडोर निर्माणमा अब ढिलासुस्ती हुन हुँदैन ।’