खोटाङ । गोरखनाथ गण मुडे ब्यारेक खोटाङमा कार्यरत नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका छन् ।
मुडे ब्यारेकबाट खटिएका ३५ जना नेपाली सेनाको टोलीले २ हप्ता लगाएर धितुङस्थित लोकेबर नजिकैको सार्वजनिक जग्गामा हेलिप्याड, भलिबल खेलमैदान र शौचालय निर्माण गरेका हुन् ।
त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिक उद्धार गर्नुपर्ने अवस्थाका बिरामीका लागि उपयोगमा ल्याउने गरी धितुङस्थित लोकेबरमा हेलिप्याड निर्माण गरिएको मुडे ब्यारेकका गणपति प्रमुख सेनानी सुजन गुरुङले बताए ।
‘सभ्य समाज निर्माणका लागि सैनिक–नागरिकबीच सुमधुर सम्बन्ध हुनुपर्छ । स्थानीय नागरिकलाई परेको समस्या तथा आम नागरिकको सरोकारको विषयमा नेपाली सेनाको सदैव सहयोग रहन्छ,’ प्रमुख सेनानी गुरुङले भने, ‘त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने पर्यटक तथा आकस्मिक रूपमा उद्धार गर्नुपर्ने अवस्थाका बिरामीलाई लक्षित गरेर हेलिप्याड तथा स्थानीय युवाका लागि भलिबल खेलमैदान र शौचालय निर्माण गरिदिएका हौं ।’
लोकेबरस्थित सार्वजिक जग्गामा निर्माण गरिएको हेलिप्याडमा एन नाइन्टिन हेलिकोप्टर (३५ जनासम्म मानिस अटाउन सक्ने क्षमताको हेलिकोप्टर) अवतरण तथा उडान भर्न मिल्ने गणपति गुरुङले जानकारी दिए । ‘हेलिप्याडमा हेलिकोप्टर अवतरण तथा उडानका साथै भलिबल खेल्न मिल्ने व्यवस्था मिलाइएको छ । बहुउपयोगी हेलिप्याडमा भलिबल खेलका लागि गणको तर्फबाट ४ वटा भलिबल र २ वटा नेट (जाली) समेत उपलब्ध गराइएको छ,’ उनले भने, ‘२ वटा भलिबल र एउटा नेट वडा नम्बर ७ महादेविस्थान र २ वटा भलिबल र एउटा नेट वडा नम्बर ८ धितुङका वडाध्यक्षलाई हस्तान्तरण गरिएको छ । भलिबल खेलमा सहभागी खेलाडी र हेलिकोप्टरमा आवतजावत गर्ने मानिसका लागि महिला पुरुष छुट्टाछुट्टै शौचालयसमेत निर्माण गरिदिएका छौं ।’
३० मिटर लम्बाइ र ३० मिटर चौडाइ भएको बहुउपयोगी हेलिप्याड निर्माणका लागि नगरपालिकाले जेसीबी र त्यसमा खपत भएको डिजेल (इन्धन) उपलब्ध गराएको जनाइएको छ । शौचालयका लागि भने नेपाली सेना आफैंले निर्माण सामग्री समेत खरिद गरेर सुविधायुक्त पक्की भवनसहितको महिला–पुरुष शौचालय निर्माण गरिदिएको नगर प्रवक्ता एवं वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।