काठमाडौं । हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार २ वटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा ७३ जनाको ज्यान गएको छ ।
सरकारी टेलिभिजनले विस्फोटलाई ‘आतंकवादी हमला’ भनेको छ । इरानको सहयोगी हमासका २ नम्बरका नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको १ दिनपछि इरानमा विस्फोट भएको छ ।
लेबनानी अधिकारीहरूले बेरुतमा भएको ड्रोन हमला इजराइलले गरेको दोष दिएका छन् ।
सुलेमानीको दक्षिणी गृहनगर केरमानमा साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो, मस्जिदमा उनलाई गाडिएको छ । बगदाद विमानस्थलको ठीक बाहिर अमेरिकी ड्रोन हमलामा भएको उनको हत्याको चौथो वार्षिकी मनाउन मस्जिदमा मानिसहरू जम्मा भएका थिए ।
केरमानका उप गभर्नरले विस्फोटलाई ‘आतंकवादी हमला’ भनेका छन् । सरकारी मिडियाले बम विस्फोटमा कम्तीमा १७० जना घाइते भएका बताएको छ । इरानको तस्निम समाचार एजेन्सीले जानकार स्रोतहरूलाई उदृत गर्दै भनेको छ, ‘बमले भरिएका २ ब्यागमा विस्फोट भयो, यो घटनाका अपराधीहरूले रिमोट कन्ट्रोलमार्फत बम विस्फोट गराएको देखिन्छ ।’
आईएसएनए समाचार एजेन्सीले केरमानका मेयर सइद तबरिजीलाई उदृत गर्दै १० मिनेटको अन्तरालमा बम विस्फोट भएको बताएको छ । अनलाइन फुटेजमा सुरक्षाकर्मीहरूले विस्फोट भएको क्षेत्रलाई घेराबन्दी गर्दा भीडहरू भाग्न खोजेको देखिन्छ ।
सरकारी टेलिभिजनका तस्वीरहरूमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ ।
सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गरेका थिए । शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो । जीवित रहँदै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीद्वारा ‘जीवित सहिद’ घोषणा गरिएका सुलेमानीलाई इराक र सिरिया दुवैमा इस्लामिक स्टेट जिहादी समूहलाई हराउन उनको भूमिकाका लागि व्यापक रूपमा नायकका रूपमा लिइन्छ ।
धेरै इरानीको नजरमा उनको सैन्य र रणनीतिक क्षमता अफगानिस्तानका साथै सिरिया र इराकजस्ता छिमेकी मुलुकका बहुजातीय विघटनलाई रोक्न सहायक थियो । लामो समयदेखि अमेरिका र उसका सहयोगीहरूले घातक शत्रुका रूपमा हेरिएका सुलेमानी सिरिया, इराक र यमनमा इरानको राजनीतिक र सैन्य एजेन्डा सेट गर्दै यस क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण शक्ति दलालहरूमध्येको एक थिए ।
सन् २०२० मा उनको मृत्युको केही दिनपछि केरमानमा उनको अन्त्येष्टिसम्म लाखौं मानिस राष्ट्रिय एकता प्रदर्शन गर्दै शोक मनाउन निक्लिएका थिए ।