तराईमा गर्मी बढेसँगै मानिसहरु नदी तथा खोलामा पौडी खेल्न जानेहरू बाक्लिएका छन् । चितवनको नारायणी नदी पुग्नेहरू भने पौडी खेल्न मात्र जाँदैनन्, बरु नेपालकै पहिलो क्रुजसीपमा पनि चढ्न पुग्छन् । त्यसैले त क्रुजसीप सञ्चालनमा आएयता आन्तरिक पर्यटकहरु बढेको बताउँछन्, स्थानीय होटल व्यावसायीहरू । क्रुजसीपको यात्रा प्रारम्भ गरेसँगै यस क्षेत्रमा पर्यटक आगमन वृद्धि भएको हो ।
नवलपुरको मध्यविन्दु नगरपालिकाबाट क्रुजसीपको यात्रा गर्न आएकी आरती शर्मा पहिलो पटक क्रुजसीप चढ्न पाउँदा निकै उत्साहित भएको बताउछिन्, ‘यो नेपालकै नौलो प्रयोग हो, क्रुजको यात्रा रमाइलो हुन्छ भन्ने सुनेको थिएँ, आज आफैले अनुभव गर्न पाएँ ।’
छोटो समयका लागि घुम्ने ठाउँको रुपमा क्रुजसीपको यात्रा उपयुक्त स्थान भएको शर्माले बताइन् ।
गैँडाकोटको एलो हाउस रिसोर्टका सञ्चालक चीरञ्जीवी सिग्देल आफ्नो रिसोर्टमा आउने पर्यटकले क्रुजसीप चढ्न जाने गरेको बताउँछन् ।
‘नारायणी नदीमा क्रुजसीप सञ्चालनमा आएपछि गैँडाकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ’, उनले भने, ‘केही पर्यटक घुम्न आएका बेला क्रुजसीप जाने गरेका छन् भने केही भने क्रुजसीप चढ्नकै लागि मात्र आउने गरेका छन् ।’
अहिले नारायणी नदीको आसपास पर्यटकको आसपास मानिसहरूका चहलपहल बढ्दो छ । व्यक्तिगत तथा समूहगत रुपमा क्रुजसीप चढ्न यात्रुहरु आउने गरेका छन् ।
नियमित सेड्युलमा सर्वसाधारणका लागि दैनिक तीन सिफ्ट क्रुज सञ्चालन हुँदै आएको क्रुजसीप सञ्चालक संस्था राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका व्यवस्थापक विक्रम बस्यालले बताए । उनले भने, ‘दश जनाभन्दा बढीको समूहमा आउनेहरुका लागि उहाँहरूकै समयमा प्राइभेट क्रुज पनि सञ्चालन भइरहेको छ ।’
अहिले दिउँसो १, ३ र ५ बजे पब्लिक क्रुज सञ्चालनमा छ । आजदेखि ‘इभिनिङ क्रुज’ (सन्ध्याकालीन क्रुज) पनि सञ्चालन हुने व्यवस्थापक विक्रम बताउँछन् उनी । पछिल्लो बढ्दो गर्मीका कारण पनि स्थानीय पर्यटकहरू बढेको बताउँछने बस्यालले ।
‘पछिल्लो समय बढ्दै गएको गर्मीका कारण आजदेखि इभिनिङ क्रुज सञ्चालन गर्ने तयारी गरेका छौँ’ उनले भने, ‘बेलुका ६–७ बजेको समयमा सञ्चालन हुने इभिनिङ क्रुजमा सूर्यास्तको मनमोहक दृश्यावलोकन पनि गर्न सकिन्छ ।’ कम्पनीले यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै केही दिनभित्रै क्रुजसीपका आकर्षण प्याकेज घोषणा गर्ने तयारीमा छ ।
अहिले नारायणी नदीको आसपास पर्यटकको आसपास मानिसहरूका चहलपहल बढ्दो छ । व्यक्तिगत तथा समूहगत रुपमा क्रुजसीप चढ्न यात्रुहरु आउने गरेका छन् ।
‘सहकारी, बीमा कम्पनी र विभिन्न संघसंस्थाबाट क्रुज चढ्नकै लागि आउने गरेका छन्’, व्यवस्थापक विक्रम बस्यालले भने ।
प्रतिव्यक्ति रु ७०० को टिकट काटेपछि नारायणी नदीमा एक घण्टासम्म क्रुजसीपमा रमाउन पाइन्छ । पाँचदेखि १० वर्षसम्मका बालबालिकाका लागि भने रु ५०० को टिकटको व्यवस्था गरिएको छ । टिकट काटेर क्रुजमा सवार गर्ने सबै यात्रुलाई ‘वेलकम ड्रिङ्क्स’ दिएर स्वागत गर्ने गरिएको र उनीहरूको रु १० लाख बराबरको बीमा गरिएको छ । साथै कुनै भवितव्य आइपरेमा लाइफ गार्डकोसमेत व्यवस्था गरिएको छ ।
क्रुजसीप भित्रै रेष्टुराँ सञ्चालनमा छ । बजारका होटल तथा रेष्टुराँकै मूल्यमा क्रुजसीप रेष्टुराँमा खाजा तथा खानालगायत पेयपदार्थ उपलब्ध गराइने व्यवस्थापक बस्यालले बताए। क्रुजसीपभित्र रेष्टुराँसहित सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक तथा गोष्ठीका लागि कक्ष सेल्फी प्वाइन्ट तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिटहरू राखिएका छन् । तीन तलाको क्रुजमा एकैपटकमा दुई सय यात्रु चढ्न मिल्ने क्षमता छ । क्रुजसीपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायत गतिविधि गर्न सकिन्छ ।