कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदयात्राका क्रममा गत पुस १४ गतेदेखि हराएका १ जना विदेशी पर्यटक अहिलेसम्म फेला पर्न सकेका छैनन् ।
स्वीडेनका २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग पदयात्राका क्रममा मर्दीको हाइक्याम्पबाट बेपत्ता भएको ५ दिन व्यतीत हुँदा समेत खोजी र उद्धारमा जुटेको टोलीले उनको बारेमा केही जानकारी प्राप्त गर्न सकेको छैन ।
पर्यटक हराएको भोलिपल्टदेखि नै खोजीमा सुरक्षाकर्मी, माछापुच्छ्रे गाउँपालिका, पर्यटन व्यवसायी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट खोजीकर्ता परिचालन भए पनि अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
पदमार्गको हाइक्याम्पको होटल म्याजिक माउन्टेनमा शुक्रबार बास बसेर शनिबार बिहान ४ बजे पानी र टर्चलाइट मात्र लिएर मर्दी आधार शिविरतर्फ गएका मिचलको अवस्था त्यसपछि अज्ञात छ । उनले आफ्नो झोला लगायत सामग्री होटलमै छाडेर गएका स्थानीय व्यवसायीको भनाइ छ ।
मर्दीको हाइक्याम्पबाट माथि अन्य होटल तथा रेष्टुराँ छैनन् । हाइक्याम्पबाट ४ घण्टाको हिँडाइपछि मर्दी बेस क्याम्प पुगिन्छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले प्रहरीले सम्पर्कविहीन पर्यटकको खोजी गरे पनि अवस्था थाहा हुन नसकेको बताए । ‘पर्यटक हराएको सूचनालगत्तै स्थानीय प्रहरी तथा पोखराबाट प्रहरी टोली गएर खोजी कार्यलाई निरन्तरता दिएका छौं,’ विकले भने, ‘फेला पर्न सक्ने सम्भावना भएका सबै ठाउँमा खोजी गरे पनि अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।’
मर्दी हिमाल पर्यटन व्यवस्थापन समितिका सचिव प्रदीप गौतमले ४ हजार ८०० मिटर उचाइको मर्दीको ‘अपरबेसक्याप’सम्म पुगेर खोजी गरिएको जानकारी दिए । हिउँ परिरहेको र अप्ठ्यारो बाटोका कारण खोजीमा समस्या भएको उनले बताए । गौतमले हेलिकप्टरबाट खोजी र उद्धारका लागि पहल भइरहेको जानकारी दिए ।