काठमाडौं । सरकारले सबै सङ्घीय कार्यालयका कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अन्तिम चरणमा पुर्याएको छ ।
सङ्घमा कर्मचारीको दरबन्दी कम गर्ने उद्देश्यले सरकारले सबै मन्त्रालय, विभागलगायतका सङ्घीय कार्यालयमा कर्मचारीको दरबन्दी घटाउने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अन्तिम चरणमा पुर्याएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सङ्घीय कार्यालयमा हाल भएको ५३ हजार निजामती कर्मचारीको दरबन्दीमध्ये करिब १० प्रतिशत दरबन्दी घटाउने गरी ओएनएमलाई अन्तिम चरणमा पुर्याइएको छ ।
मन्त्रालयका सहसचिव सुमन दाहालले सङ्घीय व्यवस्थाको मर्म अनुसार सङ्घको दरबन्दी घटाउँदै प्रदेश र स्थानीय तहको दरबन्दी बढाउने उद्देश्यले ओएनएमको काम अन्तिम चरणमा पुर्याइएको बताए ।
उनका अनुसार हालै मात्र मन्त्रीपरिषद्ले प्रधानमन्त्री कार्यालयका ६८ वटा पदका दरबन्दी घटाउने निर्णय गरेको थियो । दरबन्दी घटेर फाजिलमा भएका कतिपय कर्मचारी अवकाश भएपछि स्वतः त्यो पद खारेज हुने छ ।
उनले भने, “अहिले पनि कतिपय जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा कर्मचारीको अभाव छ । ती कार्यालयमा अब ओएनएम सर्भेबाट फाजिलमा परेका कर्मचारीलाई पठाइने छ । बढी कर्मचारी भएका कार्यालयबाट कर्मचारीलाई झिकेर कर्मचारी कम भएका कार्यालयमा पठाउन सरकारले ओएनएम गर्न लागेको हो ।”
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नं.४७ मा सार्वजनिक खर्च पुनरवलोकन आयोग, २०७५ ले दिएका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सरकारको स्थायी संरचनामा दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका २० वटा संस्था खारेज गर्ने उल्लेख गरेको छ । उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायलाई एकअर्कामा गाभिने बजेट वक्तव्यमा उल्लेख छ ।
त्यस्तै बजेटकै बुँदा नं. ५० मा सबै सरकारी सेवाको नियामक निकाय र सार्वजनिक संस्थानमा चालु आर्थिक वर्षमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने, सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दीको पुनरवलोकन गरी छरितो बनाइने उल्लेख भए अनुसार मन्त्रालयले ओएनएमलाई अन्तिम चरणमा पुर्याएको जनाइएको छ । मन्त्रालयले तयार गरेको ओएनएम मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै कार्यान्वयनमा आउने छ ।
नेपाल सरकारका पूर्वसचिव रेश्मीराज पाण्डेले प्रशासनिक असन्तुलनलाई सन्तुलन बनाउने गरी ओएनएम सर्वेक्षण गर्न सरकारलाई सुझाव दिए । उनले भने, “अहिले कतिपय मन्त्रालयमा कुनै पदका कर्मचारी अत्यावश्यक भएको तर कुनै पदका कर्मचारी अनावश्यक छन् । अहिलेको सन्दर्भमा सरकारले सङ्घका कार्यालयमा समग्र कर्मचारी दरबन्दी घटाउने गरी तयार गर्न लागेको ओएनएम सर्वेक्षणले प्रशासनिक चुस्तता कायम गर्न थप सहयोग पुग्ने छ ।” यो गोरखापत्र दैनिकमा आज प्रकासित समाचार हो ।