काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिले विकासका योजनामा बजेट माग्दै मन्त्रालयका ढोका-ढोका चाहर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने कुरामा जोड दिएका छन् ।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति र गण्डकी प्रदेश नीति तथा योजना आयोगको आयोजनामा पोखरामा भएको 'नेपालमा दिगो बिकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्यांकन' अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् ।
उनले जनप्रतिनिधिलाई कानुन निर्माणमा नै केन्द्रित गर्न आग्रह पनि गरे ।
प्राथमिकता र आवश्यकताका आधारमा योजना छनौट गर्ने हो भने यस्ता समस्या हल भएर जाने अध्यक्ष तिमिल्सिनाकाे भनाइ छ ।
सम्माननीय अध्यक्ष तिमिल्सिनाले जसले सरकारको नेतृत्व गर्छ उसैकाे जिल्लामा मात्रै बजेट जाने प्रवृत्ति झनै बढेकोमा चिन्ता व्यक्त गरे ।
सांसददेखि वडाअध्यक्षलाई नै आफूले योजना वितरणका लागि बजेट चाहिने कुराले देशलाई कहाँ पुर्याउँछ भन्ने कुरामा गम्भीर भएर चिन्तन गर्न सबैलाई आग्रह पनि गरे ।
अध्यक्ष तिमिल्सिनाले दिगो विकासका लक्ष्य पहिल्याउन तीनवटै तहका सरकार सक्रियताका साथ लाग्नु पर्ने कुरामा पनि जोड दिए ।
दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्त, समितिका सदस्यहरू कमला पन्त र बिमला घिमिरे, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी अधिकारी, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, दिगो विकास तथा सुशासन समितिका सचिव डा.रोजनाथ पाण्डेलगायतले बाेलेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधिहरूले आफ्नो मन्त्रालयअन्तर्गत दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा भएका कामहरूको विवरण प्रस्तुत गरेका थिए ।