काठमाडौं । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयको जिम्मेवारी सम्हालेको करिब एक साता हुन लागेको छ ।
सचिव आचार्यको ध्यान यति खेर मन्त्रालयको काममा भन्दा पनि मेलम्ची खानेपानीमा बढी केन्द्रीत हुन थालेको छ । बुधबार उनी आफै मेलम्ची पुगे र त्यहाँको सम्पूर्ण वस्तुस्थितिबारे स्थलगत रुपमै अध्ययन गरे ।
उनको एउटै भनाई छ, ‘अब हामीले मेलम्चीको पानी छिटोभन्दा छिटो काठमाडौं उपत्यकाका उपभोक्ताको धारा धारामा पुर्याउनुपर्छ ।’ उनले भने, मेलम्चीको साइटमा काम गरिरहेका कर्मचारीलाई पनि सोहि कुरा दोहोर्याए । ‘यसका लागि हामीले दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘माघे संक्रान्तिमा काठमाडौंमा धारामा पानी खसाल्ने योजनाका साथ हामी काम गरिरहेका छौं ।’
साढे छ महिनादेखि रोकिएको मेलम्चीको पानी माघ १ गतेसम्ममा उपभोक्ताको धारा खसाल्ने तयारी सरकारको छ । दुई वर्षअघिको बाढी पहिरोका कारण सिन्धुपाल्चोक स्थित हेलम्बु मुहानमा थुप्रेको गेग्रान पन्छाउने काम भइरहेको छ । यतिबेला रात दिन कर्मचारीहरु काममा खटिएका छन् ।
सचिव आचार्यले ७० प्रतिशत काम सकिएको र अब दुई साताभित्र बाँकी काम सम्पन्न गरेर काठमाडौंका उपभोक्ताको धारामा पानी आउने दावी गरे ।
‘अहिले एकदमै गाह्रो काम भइरहेको छ, मेसिनबाट काम गर्न सकिने अवस्था छैन । टनेलमा दुई जनाभन्दा बढि मान्छे जान मिल्दैन, त्यसैले बालुवा र माटो निकाल्न हामी दिनरात गरेर कामदार खटाएका छौं,’ सचिव आचार्यले भने ।
अस्थायी रुपमा काठमाडौंमा मेलम्चीको पानी आइरहेका बेला गत साउनको बाढीले हेडवर्क्सको संरचनामा ठूलो क्षति पुर्याएको थियो । करिव २० मिटर अग्लो गेग्रानले हेडवर्क्सको संरचना परेको थियो । अहिले सो गेग्रान हटाउने काम अन्तिम चरणमा छ ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले आयोजनाको मुहानस्थलमा भइरहेको काम अबको दश दिनमा सम्पन्न हुने बताए । दुई साता अघि खानेपानी मन्त्री महेन्द्र यादव पनि आयोजना स्थल पुगेका थिए ।