काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले देशमा चारैतिर निराशा छाइरहेको बेला एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राले नागरिकमा एउटा उत्साह थपेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्न लागेको केपी ओली कप तयारी बैठकलाई बिहीबार सम्बोधन गर्दै बस्नेतले यात्रा नेपालको एउटा ऐतिहासिक यात्रा भएको बताए ।
‘यात्राले नयाँ सपना देख्न छाडेकालाई ब्युँझाउने काम गरेको छ,’ उनले भने ।
अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफ्नो प्रधानन्त्रित्वकालमा मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग, पूर्वपश्चिम लोकमार्गको निर्माण र स्तरोन्नतिको काम सुरु गरेको उनले स्मरण गराए । एमालेको पालामा २७ वटा उत्तर–दक्षिण लोकमार्ग निर्माणको काम सुरु भएका, ३९५ वटा अस्पताल निर्माणको काम सुरु भएको, रेलमार्ग निर्माण गरी रेल ल्याएको, सुरुङमार्ग निर्माणको काम सुरु भएको उनले बताए ।
समृद्धिका लागि संकल्प यात्राले यी सबै कुरालाई झक्झक्याउने काम गरेको उनको भनाइ छ ।
पहाडमा मान्छे नै बस्दैनन् भन्दै पहाडबाट बसाइसराइ गर्ने क्रमले पहाडको जनजीवनमा निराशा छाइरहेको बेला यात्राले एउटा नयाँ सन्देश दिएको उनले प्रष्ट पारे । यात्राको क्रममा राष्ट्रिय युवा संघ नेपालको योगदान उल्लेख्य रहेको उनले बताए ।
जाजरकोट भूकम्पपछिको उद्धार र अस्थायी आवास निर्माण पनि राष्ट्रिय युवा संघ नेपालको भूमिका प्रशंसनीय रहेको बस्नेतले बताए । राज्यले गर्न नसकेको काम यसपटक राष्ट्रिय युवा संघ नेपालले गरेको भन्दै बस्नेतले प्रशंसा गरे ।
‘राष्ट्रिय युवा संघ नेपालले अप्ठ्यारो परेको बेलामा जनताको बीचमा हामी छौं भन्ने सन्देश दियो,’ उनले भने ।
अहिले अराजकतावादी, पुनरुत्थानवादी र पपुलिष्ट र अराजकतावादी तत्त्वहरूको पापको शृंखला बाहिर आउन लागेको उनले बताए । त्यस्ता शक्तिलाई अझै धक्का दिन आवश्यक रहेको उनको भनाइ छ । सहकारी ठगेर राजनीतिमा आएकाहरू अहिले लाज छोप्न सञ्चारमाध्यमविरुद्ध मुद्दा हाल्न हिँडेका भन्दै बस्नेतले आलोचना गरे ।
नयाँ दल भनाउँदाको अहिले देखिएको प्रवृत्तिविरुद्ध व्यापक भण्डाफोर गर्न आवश्यक रहेको उनले प्रष्ट पारे ।
लक्ष्य र उद्देश्यलाई दृढताका साथ लिएर हिँडेको संगठन राष्ट्रिय युवा संघ नेपाल रिस्क जोनमा हिँड्नुपर्ने उनले बताए ।