लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले जितगढी एउटा महत्त्वपूर्ण नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा रहेकाले यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्त्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताए ।
बुटवल उपमहानगरपालिका–१ स्थित ऐतिहासिक जितगढी किल्ला नेपाली सेनाले आज शुक्रबार बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान पुग्ने बताए ।
राष्ट्रपति पौडेलले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्त्वपूर्णस्थल भएको र किल्लाको समयानुकूल प्रचारप्रसार र प्रवर्द्धन गर्दै पर्यटकीयस्थल बनाउन बुटवल उपमहानगरपालिकाले योजना अगाडि बढाएकोमा खुशी व्यक्त गरे । ‘यसका लागि अब बुटवल उपमहानगरपालिकाले विशेष भूमिका निर्वाह गर्ने मैले विश्वास लिएको छु,’ उनले भने । नेपाली सेनाले ३ वटै तहका सरकारसँग मिलेर जितगढी पु्नर्निर्माण सम्बन्धी गुरुयोजना अनुसार काम गरिरहेकोमा उनले खुशी व्यक्त गरे ।
राष्ट्रपति पौडेलले आगामी दिनमा यो किल्लालाई नेपाल–अंग्रेज युद्धको अध्ययन–अनुसन्धान गर्ने र पर्यटकीयस्थलका रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘बुटवल उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारलाई यस्ता ऐतिहासिक र सामरिक महत्त्वका स्थलको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन आग्रह गर्दछु ।’
नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षा गर्दै आएको राष्ट्रपति पौडेलले बताए । ‘नेपाल र नेपालीको सुरक्षा, प्रकृति संरक्षण, राष्ट्र निर्माण, विपद् व्यवस्थापन तथा नागरिकको सहयोग लगायत कार्य नेपाली सेनाले गर्दै आएको छ,’ उनले भने ।
राष्ट्रपति पौडेलले बुटवललाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने र बुटवल सहितका नगरलाई जोडेर बृहत् शहर बनाउने जनप्रतिनिधिको चाहना पूरा होस् भन्ने शुभकामना व्यक्त गरे । किल्लाको पुनर्निर्माणपश्चात् नेपाली सेनाले हस्तान्तरण गरिसकेपछि अब यो किल्लाको संरक्षण र प्रवर्द्धनमा बुटवल उपमहानगरपालिकाले संरक्षण गर्ने अपेक्षा गरेको राष्ट्रपति पौडेल बताए ।
प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्लाको साँचो हस्तान्तरण गरेका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जितगढी किल्ला र आसपासका क्षेत्र समेटेर पर्यटीकयस्थलको प्रवर्द्धन गर्नुपर्ने बताए । उनले संघले आवश्यक कानून र अधिकार प्रदेशलाई नदिँदा समस्या भइरहेको बताए । मुख्यमन्त्री चौधरीले संघीयताको रक्षा र प्राप्त उपलब्धिको रक्षाका लागि संविधान कार्यान्वयनका लागि केन्द्रीय सरकारको ध्यानाकर्षण गराउन राष्ट्रपतिलाई अनुरोध गरे ।
नगर प्रमुख खेलराज पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न र पूणर्कदको फोटोसहित ऐतिहासिक जितगढीको फोटो अंकित हुलाक टिकट जारी गर्न केन्द्र सरकारसँग माग गरेका छन् ।
उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना रहेको बताए । जितगढीको ऐतिहासिक महत्त्वबारे इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीयस्थलका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।