कास्की । आसन्न प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको गण्डकी प्रदेशस्तरीय एक दिवसीय छनोट प्रतियोगिताको आजको खेलमा स्याङ्जाले बागलुङमाथि १४१ रनको जीत दर्ता गरेको छ ।
गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको खेलमा ‘म्यान अफ दी म्याच’ घोषित ईश्वर क्षेत्रीले १४४ रनको योगदान दिएपछि स्याङ्जाले सहज जीत निकालेको हो ।
बाग्लुङ भने आफ्नो दोस्रो खेलमा पनि पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । बिहीबारको उद्घाटन खेलमा बागलुङ कास्कीसँग १५३ रनले पराजित भएको थियो ।
बागलुङविरुद्ध टस जितेर व्याटिङ सुरुआत गरेको स्याङ्जाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३४४ रनको विशाल योगफल तयार गरेको थियो । जीतका लागि ३४५ रनको विशाल लक्ष्य पछ्याएको बागलुङले निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेटको क्षतिमा २०३ रन मात्रै बनाउन सक्यो ।
स्याङजाका व्याट्सम्यान अश्विन रानाले ३८ बलमा ४४ रन, सन्दीप खत्री क्षेत्रीले ३२ र करन पङ्गेनीले २८ रनको योगदान दिए । बागलुङका लागि अर्जुन रायमाझीले १० ओभरमा ३० रन दिएर ३ विकेट हात पार्दा अंकित न्यौपानेले २ विकेट लिए ।
बागलुङका लागि अर्जुन रायमाझीले ७० र दीपेश कुँवरले ५४ रनको अर्धशतकीय पारी खेले । स्याङ्जाका बलर तुलसीराम भण्डारीले ३ र अंकित न्यौपानेले २ विकेट लिए । प्रतियोगिताको समूह ‘ए’मा रहेका कास्की र स्याङ्जाको समान २–२ अंक भएको छ । बागलुङ भने कुनै पनि अंक नजोडेर बाहिरिएको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार हुने कास्की र स्याङ्जाबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।
समूह विजेताले फाइनल खेल्नेछ । प्रतियोगिता समूह ‘बी’मा तनहुँ, नवलपुर र पर्वत छन् । प्रतियोगिताको फाइनल खेल पुस २५ गते सञ्चालन हुने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
गण्डकी प्रदेशमा जिल्लास्तरीय छनोट प्रतियोगितापछि प्रादेशिक छनोट सञ्चालन गरिएको सिग्देलले बताए ।