पाल्पा । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएको बताएका छन् ।
पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औं साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दै अर्थमन्त्री महतले विगतको तुलनामा मुलुकको अर्थतन्त्र बिस्तारै आफ्नै लयमा फर्किएको बताए ।
अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको बताउँदै उनले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानूनको दायरामा ल्याइने बताए । देशभरका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रियाअघि बढाएको उनले बताए ।
नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा कृषिको आधुनिकीकरणबाटै आर्थिक समृद्धि हासिल हुने उनले बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै पूर्वी पाल्पाको विकासमा सहकारीले महत्त्वपूर्ण योगदान गरेको बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पछिल्लो समय शहर बजारका सहकारीमा अनियमितता भएका विवरण बाहिर आए पनि गाउँका सहकारीले नागरिकको जीवनस्तर माथि उकास्न ठूलो टेवा पुर्याएको बताए ।
लघुवित्त कार्यक्रममार्फत शेयर सदस्यलाई आयआर्जनमूलक क्षेत्रमा लगानी गरेर कृषि, पशुपंक्षीपालन, व्यापार व्यवसायबाट आत्मनिर्भर बनाउन सहकारीले जोड दिएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए ।
विक्रम संवत् २०५५ सालमा खेतको आलीमा गठन भएर मासिक ५० पैसाबाट बचत गर्न थालेको सहकारी अहिले पाल्पाकै नमूना सहकारीको रूपमा पहिचान बनाउन सफल भएको छ ।