मन्थली । रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीयले चन्दा संकलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।
स्थानीयले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
विद्यालयका पूर्व विद्यार्थी र शुभेच्छुकले चन्दा संकलन तथा देउसीभैलो कार्यक्रम गरी शिशु कक्षादेखि १० कक्षासम्मका १६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिशचन्द्र महतले जानकारी दिए ।
विद्यार्थीलाई ट्रयाक सुट, जुत्ता, मोजा, स्वीटर र टोपी उपलब्ध गराइएको हो ।
‘विपन्न विद्यार्थीले विद्यालयको पोशाक खरिद गर्न सकेका थिएनन्, अहिले पोशाकमा एकरूपता आएको छ,’ उनले भने । प्रध्यानाध्यापक महतले ५ हजार १११ रुपैयाँ चन्दा दिएर पोशाक अभियान नै थालेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सिनाका अनुसार लिखु तामाकोशी गाउँपालिकाका शिक्षा समिति सदस्य त्रिविक्रम महतले सबै विद्यार्थीलाई १/१ थान ऊनीको टोपी उपलब्ध गराएका छन् ।
सो असरमा प्रध्यानाध्यापक महलते न्यानो कपडा उपलब्ध गराउन सहयोग गर्ने, विद्यालय व्यवस्थापन समितिका सदस्य, पूर्व विद्यार्थी, विद्यालयका शुभचिन्तक र शुभेच्छुकलाई धन्यवाद दिँदै उनीहरूको सामाजिक कार्यप्रति मुक्तकण्ठले प्रशंसा गरेका थिए ।