लमजुङ । जिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको छ ।
सुन्तला बगैंचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्ने लगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो ।
बेंसीशहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा ६०० भन्दा बढी सुन्तलाको बोट लगाएका छन् । उनले १ दशकअघि बर्सेनि ६ लाखदेखि ७ लाखसम्म आम्दानी गर्दै आएका थिए तर पछिल्लो समय बर्सेनि पन्तको सुन्तला बगैंचा सखाप हुँदै गएको छ ।
यस वर्ष मुस्किलले ८० हजारसम्म आम्दानी गरेको उनको भनाइ छ । घर खर्च चलाएर पनि बचत हुने गरेकोमा यतिबेला सुन्तला उत्पादन घट्दै गएको पन्तले बताए ।
जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ । १ दशक अघिसम्म गाउँभरिका बगैंचाबाट वार्षिक २ करोडसम्म सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेका थिए । ६/७ वर्षयता १० लाखसम्म मात्रै आम्दानी गरेका स्थानीय रमेशराज पन्तले बताए ।
विगत वर्षमा पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँशहर, सिम्पानी, भोर्लेटार, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदिपुर घिमिरे लगायतमा समेत उत्पादनमा कमी आएको किसानले बताएका छन् ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विजय पौडेलका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा १३० हेक्टर क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्षमा जिल्लामा १२५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतिबाट ५२५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला खेती गरेको क्षेत्रफल वृद्धि भए पनि उत्पादन १२५ मेट्रिक टन कम भएको सूचना अधिकारी पौडेलले बताए ।
आव २०७८/७९ मा १८० हेक्टर क्षेत्रफलमा १ हजार २४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७७/७८ मा २१३ क्षेत्रफलमा १ हजार ४२४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।
सुन्तलाको बोट तथा सुन्तलामा कत्लेकीरा, पतेरो लगायतका कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैंचा मासिँदै गएको छ ।
जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौं, पोखरा, चितवन लगायत शहरमा बिक्री गर्ने गरिएको छ ।