काठमाडौं । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन् ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम २ मिलिग्राम सहित मोरङ बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय रिकी शर्मालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काकडभिट्टादेखि काठमाडौं तर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४३४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार शर्मालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै कैलालीको चुरे गाउँपालिका-५ खानिडाँडास्थित होटल संचालन गरी सोही ठाउँ बस्ने ५० वर्षीय गोरे जागरी समेत ३ जनालाई अवैध लागूऔषध चरेश करिब ४ किलो, तराजु १ थान र ढक २ थानसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय मालाखेती समेतबाट खटिएको प्रहरीले जागरीको होटल तलासी गर्दा लुकाई छिपाई राखेको उक्त चरेश फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी कैलालीकै टीकापुर नगरपालिका-१ दक्षिणपुरुवा बनगाउँ जाने सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ ब्लक नम्बर २३ बस्ने २३ वर्षीय शिशिर साउद र २४ वर्षीय शिद्ध बुढा रहेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी यता दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित पार्टि फ्लो रेष्टुरेन्टबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने २१ वर्षीय प्रदिप बुढाथोकी, २१ वर्षीय सन्जिब कठायत र २१ वर्षीय चन्द्र प्रकाश केसी रहेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।