पर्वत । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संघीय निजामती सेवा ऐन पारित गरेर तत्काल कार्यान्वयनमा ल्याउन माग गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठन पर्वतको जिल्ला परिषद् तथा प्रशिक्षण कार्यक्रमलाई आज शनिबार पर्यटकीय गाउँ भुकदेउरालीमा सम्बोधन गर्दै नेता ज्ञवालीले निजामती ऐन कार्यान्वयनमा नल्याउँदा प्रशासनिक क्षेत्रमा समस्या पैदा हुँदै गएको धारणा राखे ।
उनले सरकारले तत्काल सदनमा लगेर निजामती ऐन पारित गराउनुपर्नेमा जोड दिए ।
उनले निजामती सेवा तथा शिक्षा ऐन लगायतका विधेयक पारित नहुँदा संघीयता कार्यान्वयनमा समस्या भएको बताए । ‘आम कर्मचारीको मनोबल बढाउनका लागि पनि तत्काल यो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्छ,’ उनले भने ।
संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि नयाँ संविधानअनुरूप संघीयता कार्यान्वयन सम्बन्धी कानून निर्माण हुन नसक्नु आश्चर्यको विषय भएको उनको भनाइ थियो ।
पूर्व मन्त्री समेत रहेका ज्ञवालीले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेले सबै पदमा उम्मेवार उठाउने बताए । राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य गर्न खोजिएको बताउँदै कसैको विश्वासमा लागेर एमालेले कुनै सहमति र सम्झौता नगर्ने दाबी गरे । एमाले सरकारको खेलमा भन्दा पनि पार्टी मजबुत बनाउनतर्फ लागेको बताउँदै ज्ञवालीले २०८१ साललाई शुद्धीकरण वर्षका रूपमा मनाउन तयारी गरेको बताए ।
कार्यक्रममा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले संघीय निजामती ऐन पारित गर्न सरकारले आनाकानी गरेको आरोप लगाए । उनले कर्मचारी आमनागरिकका सेवक भएको बताउँदै नागरिकलाई चुस्तदुरुस्त सेवा प्रवाह गर्न समेत आग्रह गरे ।
स्थायी सरकारका रूपमा रहेका कर्मचारीलाई राज्यले उचित सम्बोधन गर्न नसकेको उनले बताए ।