झापा । विश्व बैंकको सहयोगमा ‘शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत मेचीनगरको शहीदमार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर कालोपत्र सडक निर्माण हुने भएको छ ।
नगरका २ महत्त्वपूर्ण शहरी क्षेत्र धुलाबारी र काँकडभिट्टाको विकासमा सहयोग पुग्ने सडक निर्माणमा विश्व बैंकको १ अर्ब ३ करोड ऋण लगानी हुने प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बताए ।
७ प्रदेशका ३३ वटा स्थानीय तहमा ‘शहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ । आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले १ अर्ब ५० करोड अमेरिकी डलर (करीब २ खर्ब) सहुलियत ऋण उपलब्ध गराउने सम्झौता भएको थियो ।
परियोजनाअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर १ को मेचीनगरमा २ वटा सडक कालोपत्र गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब बढी) ऋण उपलब्ध गराएको नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य शर्माले बताए ।
शर्माका अनुसार सहिदमार्ग अन्तर्गत धुलाबारी मोडबाट बजार क्षेत्र हुँदै खुट्टीडाँगीको थोप्लेबिरान सामुदायिक वनको कार्यालयसम्म ५ दशमलव ३ किलोमिटर कालोपत्र निर्माण हुनेछ । सडकको चौडाइ १२ मिटर, ड्रेन र डबल लेन रहने उनले जानकारी दिए ।
यसैगरी सूर्योदय मार्गअन्तर्गत पूर्वीनाकाको काँकडभिट्टास्थित भट्टराई चोकबाट सुरु भएर बाहुनडाँगी बजारसम्मको ८ दशमलव ५ किलोमिटर लामो सडक कालोपत्र, डबल लेन र ११ मिटर चौडाइको रहने शर्माले बताए ।
संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण हुने भएका छन् । विश्व बैंकसँगको सम्झौतामा ती दुवै सडक २०८२ असार ३१ गतेसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने उल्लेख छ ।