काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले आफ्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि उपसमिति बनाउनेबारे आजको बैठकमा छलफल गरेको छ ।
समितिका सभापति अब्दुल खाँनले समितिमा उठेका विषयवस्तुलाई प्राथमिकता राखी काम गर्न उपसमिति आवश्यक रहेको बताए । उनले समितिका सदस्यले आवश्यक ठानेमा उपसमिति चाँडै बनाउने कुरा व्यक्त गरे ।
समितिका सदस्य रमा कोइराला पौड्यालले उपसमिति आवश्यक नरहेको धारणा व्यक्त गरीन् । आफ्नो समितिअन्तर्गतका महत्वपूर्ण मुद्दालाई पन्छ्याएर उपसमिति बनाउनेबारे छलफल गर्न आवश्यक नरहेको उनको भनाइ थियो । उनले भने, “बालकुमारी घटना, व्यापारीको उद्योगमा विद्युत् काटेको विषयवस्तु लगायत समस्यालाई समितिमा छलफलको विषयवस्तु बनाउनुपर्छ । अहिले उपसमिति बनाउनेतिर लाग्न आवश्यक छैन ।”
समितिका सदस्य शान्ती चौधरीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिलाई उपसमिति आवश्यक रहेको बताइन् । उनले समितिको उपसमितिलाई छिटो पूर्णता दिनसके समितिको काममा केही सहजता हुनसक्ने धारणा व्यक्त गरीन् ।
समितिका सदस्य अमृता देवी अग्रहरीले समितिका कामलाई थप प्रभावकारी बनाउन उपसमिति आवश्यक रहेको बताइन् । मूल समितिमा बसेर पनि आवश्यकताअनुसार उपसमितिको काममा सदस्यले सहयोग गरेमा उपसमितिको प्रभाव देखिनसक्ने उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा समितिका सदस्य असिम शाहले उपसमिति बनाउने या नबनाउने बारेमा छिटो निर्णय हुनुपर्ने बताए । त्यस्तै समितिका सचिव रामकुमार पौडेलले सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर जिल्ला, लुम्बिनी प्रदेशको बाँके र गण्डकी प्रदेशको कास्की, पोखरा, स्याङ्जा जिल्लामा गरिएको बजार अनुगमनसम्बन्धी प्रतिवेदन, २०८० का बारेमा समितिका सदस्यले थप सल्लाहसुझाव अर्को बैठकमा दिन अनुरोध गरे ।