काठमाडौं । नजिकिँदो तीलासक्रायत (माघेसङ्क्रान्ति) कसरी टारौँ भन्ने सोचेर जिङ्राएका यहाँका उखु उत्पादक किसानलाई राहत मिलेको छ ।
जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज (बोलिचालीमा एभरेष्ट चिनी उद्योग) ले यही पुस १६ गतेसम्म तौल भएको उखुको पूरै भुक्तानी दिएपछि किसानलाई राहत मिलेको हो ।
गत मङ्सिर २६ गते यसपालिको यामको तौल खोलेर पुस ४ गते चिनी उत्पादन थालेको उद्योगले यस अवधिमा तौल भएको उखुको पूरै भुक्तानी दिएको छ । गत सोमबारसम्म तौल भएको करिब पाँच लाख क्विन्टल उखुको भुक्तानी उद्योगले किसानलाई उपलब्ध गराएको हो । यस्तो भुक्तानी पाउने महोत्तरीबाहेक अन्य जिल्लाका किसान पनि छन् । पहिलो चरणमा रु १९ करोडभन्दा बढी रकम भुक्तानी गरिएको उद्योगले जनाएको छ ।
“रमाइलो गरी मनाइने तिलासक्रायत पर्व के गरी टारौँ भन्ने थियो, त्यस्तै गहुँखेती र अन्य चैतेबाली लगाउँदाको खर्च तिरोतारोको धौधौ परेका बेला उखुको रकम पाइयो”, पहिलो चरणको उखुको भुक्तानी पाएपछि राहत महसुस गर्नुभएका भङ्गाहा–४ का किसान हीरालाल महतोले भने । पछिल्ला दुई तीन वर्षयता भुक्तानी क्रमशः सहज बन्दै आएपछि यस भेगमा उखुखेती फेरि बढ्दै गएको छ ।
विसं २०७२ सम्म महोत्तरीमा १८ हजार बिघासम्म पुगेको उखुखेती कहिल्यै समयमा भुक्तानी नपाएर किसानले दिक्क भएर छाड्दै जाँदा २०७५ सालमा यो खेती पाँच हजार बिघामा झरेको थियो । त्यसयता किसान, किसानसम्बद्ध उखु उत्पादक कृषक सङ्घ महोत्तरी र उखु उत्पादक महासङ्घ लगायतको निरन्तरको सङ्घर्षको परिणमले पछिल्ला दुई÷तीन वर्षयता क्रमशः भुक्तानी सहज बन्दै गएपछि फेरि उखुखेती अलिअलि गरे बढ्दै गएको उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहा बताउछन् ।
जिल्लामा यसपाली उखुखेती सात हजार बिघाभन्दा बढीमा रहेको कुशवाहाको भनाइ छ । दुई साता नबित्दै तौल भएको उखुको पूरै भुक्तानी पाइएपछि किसान र उद्योगबीच विश्वास तथा भरोसा दुवै बढेको किसान बताउँछन् । उद्योगप्रति बढेको विश्वासले अहिले सर्लाही, रौतहट, बारा र धनुषाका किसानले पनि एभरेष्ट चिनी उद्योगलाई उखु दिन थालेका छन् ।
सर्लाहीको कविलासीका किसान राजनारायण महतोले पोहोरदेखि नै एभरेष्ट चिनी उद्योगले भुक्तानी सहज बनाएको प्रतिक्रिया दिए । उद्योगले भुक्तानी सहज बनाएसँगै आपूmहरुका गुनासा सुन्ने, कटान पुर्जी वितरण सरल बनाउने, उद्योग परिसरमा उखु तौलाउन पुगेका किसान र सवारीसाधनको व्यवस्थापन तथा परिसरभित्र खानेपानी र शौचालयको व्यवस्थापनमा पनि उद्योगले यथाशक्य प्रबन्ध गर्दै लगेको किसान बताउँछन् ।
आठ वर्ष पहिले २०७२ मा ५८ लाख क्विन्टलसम्म उखु क्रसिङ गरेको उद्योगमा उखु घट्दै गएर गत वर्ष २६ लाख क्विन्टलमा झरेको थियो । यसपाली गत वर्षभन्दा चार लाख क्विन्टल क्रसिङ बढ्ने उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाको भनाइ छ ।
यसपाली उद्योगले किसानलाई सरकारले तोकेअनुसार प्रतिक्विन्टल उखुको रु पाँच सय ६५ दिँदैछ । किसानले पाउने प्रतिक्विन्टल रु छ सय ३५ मध्ये रु ७० सरकारी अनुदान र रु पाँच सय ६५ उखुको मूल्य भन्ने सरकारले स्पष्ट पारेको छ । भुक्तानी सहज भए पनि उखु किसानका बिलौना भने अझै छन् । उखुको मूल्य निर्धारणमा सरकारले आपूmहरुको मर्का नबुझेको किसान र किसानसम्बद्ध संस्थाका प्रतिनिधि बताउँछन् ।
यसपाली सात सय ५० प्रतिक्विन्टल उखुको मूल्य पाउनुपर्ने किसानसम्बद्ध सङ्घसंस्थाले माग गर्दै आए पनि सरकारले आपूmहरुको रोदनको केही वास्तै नगरेको कुशवाहाको गुनासो छ ।