काठमाडौं । जीवनका धेरै परिभाषा हुन सक्छन् तर जैविक रूपमा कुनै पनि प्राणीको जन्मदेखि मृत्यु बीचको अवधि नै ‘जीवन’ हो तर हाम्रो जन्म के हाम्रो इच्छाबाट हुन्छ ? हुँदैन ।
त्यसैले जीवनलाई सुन्दर बनाएर सबैलाई समान भावले व्यवहार गर्नु नै जीवनयापन गर्ने उत्कृष्ट कला हो । मानिसले जीवनमा जति भोगेको हुन्छ, उसको संघर्षको कथा पनि त्यति नै हुन्छ ।
दैलेखको नारायण नगरपालिकामा जन्मिएका गणेशप्रसाद कोइराला सधैं सकारात्मक सोच राख्ने व्यक्ति हुन् । उनी हरेक कुरालाई सही विश्लेषण गर्न सक्छन् । जो मान्छेले निहित स्वार्थ नराखी अरूको बारेमा राम्रो सोच राख्न सक्छ, उसले कहिल्यै पनि पछाडि फर्केर हेर्नु नपर्ने उनको बुझाइ छ । मान्छेको आ-आफ्नै सोच्ने क्षमता भए पनि कसरी जीवनयापन गर्ने भन्ने सोच सबैमा एउटै हुनुपर्ने उनी बताउँछन् ।
मध्यम वर्गीय किसान परिवारमा जन्मिएका कोइरालाको बाल्यकाल पनि सामान्य तवरबाट बित्यो । उनले दैलेखकै विद्यालयबाट अध्ययन सुरु गरेका थिए । त्यसपछि उनको बाल्यकाल केही समय दाङको सेरोफेरोमा बित्यो । उनले १२ कक्षासम्मको पढाइ भने सुर्खेतमा पुरा गरे । काठमाडौं आएर उनले थप अध्ययन पनि गरे । जनप्रशासन, भौतिक शास्त्र र कानून विषयमा पनि उनले अध्ययन गरेका छन् ।
निजामती सेवाको यात्रा
उनी निजामती क्षेत्रमा प्रवेश गर्नुअघि शिक्षण पेशामा आबद्ध थिए । उनले अध्यापन गराउने क्रममा निजी तथा सामुदायिक विद्यालयको समेत अनुभव लिएका छन् ।
उनले दुर्गमका विभिन्न विद्यालयमा गएर पनि अध्यापन गराएका छन् । शिक्षण क्षेत्रमा लागिरहँदा उनलाई सन्तुष्टि नभएको होइन तर घरपरिवार र श्रीमतीको साथ, सहयोग र हौसलाबाट आफू निजामती सेवामा प्रवेश गरेको उनी बताउँछन् । २०७४ सालमा उनले शाखा अधिकृतको जाँच दिए पनि पहिलोपटक सफल हुन सकेनन् ।
उनले दोस्रोपटक परीक्षा दिएर अधिकृत पास गरेका हुन् । मुगुमा सहायक प्रमुख जिल्ला अधिकारी रहँदा पनि नेपाल र चीनबीच सीमाको अनुगमन गरेर राम्रो नतिजा निकालेको उनी बताउँछन् । उनले विभिन्न स्थानीय पालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्दा पनि राम्रो प्रतिफल दिएका छन् ।
स्थानीय पालिकामा रहेका अवसर, चुनौती र सम्भावनालाई पनि नजिकबाट नियाल्न पाएको उनी बताउँछन् । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय दैलेखमा कार्यरत रहँदा पनि आफूले गर्ने काम प्रक्रियामुखीभन्दा पनि सेवामुखी भएको उनी बताउँछन् ।
दैलेख जिल्लामा करीब २ महिना आर्थिक अख्तियारी समेत प्राप्त गरेका उनले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउँदा पेट्रोलियम अन्वेषण सम्बन्धीको काम प्रभावकारी ढंगबाट सञ्चालन गरेका थिए । समग्र विकास, विपत् व्यवस्थापन तथा अनुगमन र मूल्यांकन गर्ने कार्यमा पनि उनले उच्च प्राथमिकता तथा प्रभावकारी ढंगबाट सञ्चालन गरेका थिए ।
कोइरालाले स्थानीय तहको संस्थागत मूल्यांकन, योजना, बजेट, विपत् व्यवस्थापन सम्बन्धी विषयमा विभिन्न स्थानीय तहमा प्रशिक्षण समेत दिँदै आएका छन् ।
कर्मचारीतन्त्र प्रतिको बुझाइ
सामान्यतया मुलुकको सार्वजनिक प्रशासन सञ्चालन गर्ने स्थायी संयन्त्रका रूपमा स्थापित राष्ट्रसेवकको समष्टिगत संरचनालाई निजामती सेवा वा कर्मचारीतन्त्र भनिन्छ ।
यसलाई स्थायी सरकार पनि भनिन्छ । निजामती सेवा राज्य सञ्चालनको एक आधारभुत तथा अभिन्न अंग हो । राज्यले जनतालाई प्रदान गर्ने सेवा वितरण गर्न कर्मचारीतन्त्रले मद्दत गर्छ भने जनता र राज्यलाई जोड्ने पुलका रूपमा पनि कर्मचारीतन्त्रलाई बुझ्न सकिन्छ ।
कर्मचारीतन्त्रले अनियमितता गर्न नदिने, विभिन्न दबाबलाई चिर्दै जनतालाई सुशासनको प्रत्याभूति दिलाउने गर्छ भने राज्यका विभिन्न अंगले बनाएका नीति–नियमको कार्यान्वयन पनि गर्छ । अहिलेको समयमा यसमा केही समस्या पनि देखिएका छन् तर कर्मचारीतन्त्रको विकल्प अरू केही हुन सक्दैन । यसमा देखिएका कमी–कमजोरी सुधार्न नयाँ प्रविधिको प्रयोग र दक्ष जनशक्ति उत्पादन गर्न जरुरी रहेको छ ।
सबै जनताको विश्वासको आधार हुनुपर्ने
कर्मचारीतन्त्रलाई थप जिम्मेवार र नैतिकवान बनाउन जरुरी छ । कर्मचारीतन्त्रले देश विकासको लक्ष्य हासिल गर्नमा महत्त्वपूर्ण योगदान गरिरहेको हुन्छ ।
देशमा पटक-पटक भएका ठूला राजनीतिक परिवर्तनहरूलाई आत्मसात् र अनुकूलन गरी जस्तोसुकै राजनैतिक संक्रमणमा पनि नागरिक हितमा तत्पर रहने धैर्यता र व्यावसायिकता नेपालको निजामती सेवाले प्रदर्शन गरिरहेको छ तर कतिपय सकारात्मक पक्षहरूका अलावा नेपालको कर्मचारीतन्त्र अपेक्षित रूपमा सुदृढ बन्न र सेवाप्रति नागरिकको विश्वासलाई जारी राख्न सकेको छैन । निजामती सेवा र यसभित्रका राष्ट्रसेवक कर्मचारीप्रति आम नागरिकहरूको दृष्टिकोण सकारात्मक बन्न सकिरहेको देखिँदैन ।
आर्थिक चुनौती वा सहजता ?
पहिलो कुरा तलब सुविधाभन्दा पनि देशको अवस्था कस्तो छ, त्यसमा भर पर्छ । जनताको अवस्था निम्न भएको बेलामा कर्मचारीको तलब सुविधा उत्कृष्ट हुन सक्दैन । कुनै पनि देशमा कर्मचारीको तलब-सुविधा देशको अर्थतन्त्रमा भर पर्छ ।
सरकारले दिएको तलब सुविधाले आफू सन्तुष्ट रहेको उनी बताउँछन् । उनले भने, ‘सबैको सोच फरक हुन्छ, हामी निजामती सेवामा पैसा कमाउन आएका होइनौं, जनताको सेवा गर्न आएका हौं ।
त्यसैले सबै कर्मचारीले सरल जीवनयापन गरेर देश सबल बनाउने प्रण गर्न जरुरी छ ।’ मान्छेका इच्छा असीमित भएकाले पनि कहिलेकाहीँ त्यस्तो सोच आउला तर सरकारको सेवासुविधाले सरल जीवनयापन गर्न सहजै पुग्छ ।
निजामतीमा आउन चाहनेलाई सुझाव
अहिलेको पुस्तामा सबैभन्दा भरपर्दो काम भनेको निजामती सेवा नै हो । मध्यम वर्गीय परिवारसँग व्यापार गर्न सक्ने पुँजी पनि हुँदैन । सामान्य जीवनयापन गर्न चाहने व्यक्ति निजामती सेवामा खुलेर आफ्ना काम गर्न सक्छ ।
निजामती सेवामा पछिल्लो समय केही विसंगति भए पनि हामीले यसलाई सुधारेर लैजाने अवसर छ । सरकारी सम्पत्ति सही सदुपयोग गर्ने जिम्मा सबैको भएकाले निजामती सेवा एउटा माध्यम बन्न सक्छ । हार–जीत सबैको हुन्छ, यस क्षेत्रमा लाग्न चाहनेले हारलाई नै जीतको पहिलो माध्यम मान्नुपर्ने उनी बताउँछन् ।
सेवा प्रवाहको गुणस्तर, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार विकासको गति, परिवर्तन र सुधारप्रति सकारात्मक सोच लिई निजामती सेवामा प्रवेश गर्नुपर्छ । यसले देशको आर्थिक पाटो सबल बनाउन मद्दत गर्छ । शाकाहारी जीवनयापन गर्नु, बिहान उठ्नु, ध्यान गर्नु, आध्यात्मिक चिन्तनको बाटो अँगाल्नु र जीवनमा उच्च नैतिकता अँगाल्नु सफलताका आधार रहेका उनी बताउँछन् ।