गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी–वे बनाइदै

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी–वे बनाइदै

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी-वेसहितका संरचना निर्माण गर्न नयाँ ठेक्का लाग्ने भएको छ ।

निर्माण सकिएर सञ्चालनमा आएको एक वर्षपछि थप निर्माण कार्यका लागि गत वैशाखमा ठेक्का आह्वान भएको थियो ।

सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले यो कामको ठेक्का आशिष–क्षमादेवी–बुद्ध हिमाली जेभीलाई दिने गरी बोलपत्र स्वीकृतिको आशय पत्र प्रकाशित गरेको छ ।

प्राधिकरणका अनुसार यो ठेक्का कुल लागत ३ अर्ब ९९ करोड ४९ लाख ९३ हजार ७१० रुपैयाँमा लाग्दै छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ धावनमार्ग बनेसँगै अहिले उडान त्यहीँबाट भइरहेको छ । 

यस विमानस्थलको पुराना धावनमार्गलाई पुनर्स्थापित गरी नयाँ धावनमार्गसँग जोड्दै समानान्तर ट्याक्सी वे, एप्रोनसहितका संरचना बनाउने प्राधिकरणको योजना छ ।