काठमाडौं । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाल लगायत ६ जनालाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
अदालतले अधिकृतसँगै इन्जिनीयर सुदिप चौधरी र सबइन्जिनीयर रामकान्त चौधरी र निर्माण कम्पनीका ३ जनालाई भ्रष्टाचार मुद्दा दोषी ठहर गरेको छ ।
विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले सोमबार फैसला सुनाउँदै भ्रष्टाचारी ठहर गरेको छ ।
विशेषले तत्कालीन कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाल, सुदीप चौधरी, रामकान्त चौधरीलाई जनही ४ लाख ९९ हजार र सोही बराबर जरिवाना हुने फैसला गरेको छ । आरोपीहरूलाई जनही ३ महिना कैद पनि हुने फैसलामा भनिएको छ ।
निर्माण कम्पनीका सञ्चालकहरू श्यामकान्त चौधरी, नारायणप्रसाद यादव, राजकुमार यादवलाई जनही ४ लाख ९८ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना असूल गर्नुपर्ने फैसला भएको छ ।
नगरपालिकाको १४ लाख ९७ हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । दाहालसहित ६ जनाको मिलेमतोमा नगरपालिकाको रकम हिनामिना गरेको भन्दै आयोगले २०७७ असार ३० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
निमित्त कार्यकारी अधिकृत दाहालले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत कानूनी प्रक्रिया छली सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को प्रावधानको गलत व्याख्या गरी नगरपालिकाबाट गरिने कामलाई आफ्नै एकल बोर्डको निर्णय गरेको पाइएको थियो ।
दाहालले आफैं निर्णय गरी ३ भाग लगाई कोटेशनमार्फत ३ वटा निर्माण व्यवसायीलाई दिएको र ३ वटै निर्माण व्यवसायीले नगरपालिकासँग गरेको सम्झौताविपरीत लागत इष्टिमेट गरेको अख्तियारको आरोप थियो । कम्पनीले गुणस्तरहीन कार्य गरेकोमा नगरपालिकाका सब–इन्जिनीयर रामकान्त चौधरी र इन्जिनीयर सुदीप चौधरीले लागत इष्टिमेट बमोजिम काम गरेको भन्दै झूटा प्रतिवेदन पेश गरेको आरोप थिए ।