सभापति रवि लामिछानेको सम्बोधनले जगाएको आशा

सभापति रवि लामिछानेको सम्बोधनले जगाएको आशा

नेपाली राजनीतिमा वैकल्पिक शक्तिको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ मा झण्डै दुईतिहाइको अभूतपूर्व जनमत हासिल गरेपछि मुलुक यतिबेला नयाँ आशा र केही आशंकाको दोसाँधमा छ । यतिबेलाको भारी जनादेश एउटा पार्टीको विजय मात्र नभई पुराना दलहरूको कार्यशैलीप्रति जनताले व्यक्त गरेको तीव्र असन्तोष र नयाँ नेतृत्वप्रतिको उच्च भरोसाको उपज हो ।

रास्वपाका नवनिर्वाचित १८२ जना सांसदहरूलाई अभिमुखीकरण दिने क्रममा सभापति रवि लामिछानेले व्यक्त गरेका विचारहरूले नेपाली राजनीतिलाई नयाँ दिशा दिने र हराएको राजनीतिक नैतिकता फर्काउने आशा जगाएको छ ।

सभापति लामिछानेले सांसदहरूलाई दिएको सबैभन्दा बलियो र चर्चामा रहेको सन्देश हो, ‘राइट टु रिकल’ अर्थात् जनप्रतिनिधिलाई फिर्ता बोलाउने अधिकारको कार्यान्वयन । नेपालको संसदीय इतिहासमा दलहरूले आफ्ना सांसदलाई ‘ह्विप’ लगाउने परम्परा त थियो तर कार्यसम्पादनमा चुकेको वा अनुशासनहीनता प्रदर्शन गरेको खण्डमा पदबाटै फिर्ता बोलाउने आँट कुनै पनि दलले गरेका थिएनन् । रास्वपाले पार्टी विधानको धारा ६९ लाई कडाइका साथ लागू गर्ने उद्घोष गरेको छ, यसले एकपटक चुनाव जितेपछि ५ वर्षसम्म जे गरे पनि हुन्छ भन्ने स्वेच्छाचारी सोचमाथि लगाम लगाउने निश्चित छ । यसअघि ढाकाकुमार श्रेष्ठको प्रकरणमा रास्वपाले देखाएको तत्परताले यसलाई केवल गफ मात्र नभई व्यवहारमा उतारिने विश्वास दिलाएको थियो ।

सम्बोधनका क्रममा लामिछानेले रास्वपा अर्को चुनाव जित्नका लागि मात्र होइन, अर्को पुस्ताले नहार्ने गरी राजनीति गर्न आएको बताएर दूरगामी सोच पस्किएका छन् । संसद्मा झण्डै दुईतिहाइको शक्ति हुँदा पनि संख्या घट्ला वा सरकार अल्पमतमा पर्ला भन्ने चिन्ता नगरी नैतिकता र अनुशासनलाई प्राथमिकता दिनुले पदलोलुपताभन्दा पद्धतिलाई केन्द्रमा राख्ने संकेत गरेको छ । विचौलिया र स्वार्थ समूहको प्रभावबाट जोगिन उनले दिएको कडा निर्देशनले विगतका सरकारहरू किन असफल भए र रास्वपाले कुन बाटो समात्नुपर्छ भन्ने कुरा स्पष्ट पारेको छ ।

सभापति लामिछानेको उत्साहजनक सम्बोधनबिच केही आन्तरिक चुनौतीका रेखाहरू पनि देखिएका छन् । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को प्रशिक्षण कार्यक्रममा अनुपस्थितिले नेतृत्व तहमा सबै कुरा ठीकठाक त छ भन्ने प्रश्न जन्माएको छ । पार्टीभित्र विवेकशील साझा, बालेन समूह र थरुहट जस्ता विविध धारहरू समेटिएको अवस्थामा आन्तरिक शक्ति सन्तुलन मिलाउनु र गुटबन्दी हुन नदिनु सभापति लामिछानेका लागि चुनौतीपूर्ण कार्य हो । इतिहासमा ठूला बहुमतका सरकारहरू बाह्य दबाबभन्दा पनि आन्तरिक कलहका कारण ढलेका छन् ।

सभापति लामिछानेको सम्बोधनले जनतामा पलाएको आशालाई अब कार्यसम्पादनमा बदल्ने समय आएको छ । ‘जनताले हामीलाई पुराना दललाई जस्तो दशकौँ कुर्ने छैनन्‌’ भन्ने उनको स्वीकारोक्तिले नेतृत्वमा रहेको दबाब र संवेदनशीलतालाई दर्शाउँछ । यदि रास्वपाले विधान अनुसारको अनुशासन कायम राख्दै विचौलियाको प्रभावबाट मुक्त रहेर परिणाममुखी काम गर्न सक्यो भने नेपाली राजनीतिमा साँचो अर्थमा नयाँ अध्यायको सुरुवात हुनेछ । आशा गरौँ, झण्डै दुईतिहाइको जनमत कुनै एक दलको सत्ता आरोहणको खुड्किलो मात्र नभई सिंगो देशको कायाकल्प गर्ने ऐतिहासिक अवसर बन्नेछ ।

मिति २०८२ चैत ६ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।