नेपालका पुराना र स्थापित राजनीतिक दलहरूका लागि परिवर्तन र रूपान्तरण केवल दस्तावेजमा सजाउने आकर्षक शब्द मात्र बनेका छन् । मुलुकमा व्यवस्था बदलियो, पुस्ता बदलियो र नागरिकका आकांक्षाहरू पनि बदलिए तर विडम्बना ! पुराना दलहरूको चरित्र, कार्यशैली र आन्तरिक लुछाचुँडी अझै पनि ज्यूँका त्यूँ छ ।
नेपाली कांग्रेसभित्र अहिले देखिएको समानान्तर नेतृत्वको दाबी र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनमार्फत चुनिएका सभापति गगनकुमार थापालाई अस्वीकार गर्ने कार्यशैली यसैको ताजा उदाहरण हो । कांग्रेसभित्रको शक्ति संघर्ष केवल २ व्यक्ति वा २ पुस्ताबिचको लडाइँ मात्र होइन, विधिको शासन र व्यक्तिवादी स्वेच्छाचारिता बिचको टकराव पनि हो । एउटा पक्षले विशेष महाधिवेशनलाई जनादेशको आधार मानेर नेतृत्व दाबी गरिरहेको छ भने अर्को पक्षले त्यसलाई असंवैधानिक र प्रक्रियाविपरीत भन्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याएको छ । दुवै पक्षले आ–आफ्नै तर्क गरे पनि पार्टीको आन्तरिक सम्बन्ध र जनस्तरको सन्देशका लागि यस्ता गतिविधि प्रियकर छैनन् ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको ८३ जना केन्द्रीय सदस्यहरूको बैठकले गगन थापालाई सभापति नमान्ने जुन निर्णय गर्यो, यसले पार्टीभित्रको ध्रुवीकरणलाई थप बढाएको छ । तत्काल चुनावमा जानुपरेकाले चुनावका बेला कांग्रेसभित्रको विवाद मत्थर भएजस्तो देखिए पनि फेरि सल्बलाउन थालेको छ । अदालतको फैसला नआउञ्जेल नेतृत्वलाई नमान्ने रणनीतिले पार्टीलाई अनिर्णयको बन्दी मात्र बनाउँदैन, बरु कार्यकर्ता पंक्तिमा ठूलो अन्योल र निराशा समेत पैदा गरेको छ ।
नेपालका पुराना दलहरूमा देखिएको पुरानो जीर्ण रोगका केही निश्चित लक्षणहरू छन् । नेतृत्वमा पुगेपछि पद छोड्नै नचाहने र नयाँ पुस्तालाई स्पेस नदिने ‘सिन्डिकेट’ शैलीले कांग्रेस मात्र होइन, एमाले र माओवादी जस्ता दलहरूलाई पनि थला पारेको छ । पार्टीको नीति र सिद्धान्तभन्दा पनि कुन नेताको फेरो समात्दा पद र प्रतिष्ठा पाइन्छ भन्ने गुटगत मानसिकताले संगठनको जग नै खोक्रो बनाइदिएको छ । कांग्रेसको पछिल्लो विवादमा पनि ८३ जना एकातिर र विशेष महाधिवेशन पक्षधर अर्कोतिर हुनु नीतिगत मतभेद नभएर शक्ति सन्तुलनको टकराव हो ।
यतिबेला नागरिकहरू पुराना दलबाट वाक्क भएर नयाँ र वैकल्पिक शक्तिलाई रोजेका छन् । यस्तो बेला पुराना दलहरूले आफूलाई सुधारेर जनताको विश्वास जित्नुपर्नेमा उल्टै आन्तरिक कलहमा रुमल्लिनु आत्मघाती कदम हो । गगन थापा पक्षले उठाएको रूपान्तरणको एजेन्डा र देउवा पक्षले समातेको विधानको मर्म दुवै आ–आफ्नो ठाउँमा तर्कसंगत होलान्, तर यी दुवैको मिलनविन्दु पार्टीको एकता र जनसेवा हुनुपर्थ्यो । जब पार्टीका शीर्ष नेताहरू नै एकअर्कालाई नाटक मञ्चन गरेको आरोप लगाउँछन्, तब त्यसले संस्थागत मर्यादालाई धज्जी उडाउँछ ।
कांग्रेसको विवाद अब राजनीतिक तहबाट सरेर कानूनी मोडमा पुगेको छ । सर्वोच्च अदालतले दिने फैसलाले प्राविधिक रूपमा नेतृत्वको टुङ्गो त लगाउला तर के त्यसले पार्टीभित्रको मनको फाटोलाई पुर्न सक्ला ? पक्कै सक्दैन । पुराना दलहरूले बुझ्नुपर्ने कुरा के हो भने केवल अदालतको आदेशले मात्र पार्टी चल्दैन, पार्टी चल्नका लागि त तल्लो तहका कार्यकर्ताको भरोसा र नागरिकको समर्थन चाहिन्छ । भागबण्डा र पदीय स्वार्थको राजनीतिले अन्ततः पार्टीलाई साघुँरो घेरामा सीमित गरिदिन्छ ।
अन्ततः नेपाली कांग्रेसभित्रको गुटगत संकटले सबै पुराना राजनीतिक दलहरूलाई एउटा गम्भीर ऐना देखाएको छ । यदि समयमै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, पुस्तान्तरणलाई सहज स्वीकार गर्ने र पार्टीभित्रको पार्टी गुटलाई अन्त्य नगर्ने हो भने यी दलहरू इतिहासको पानामा मात्र सीमित हुने खतरा छ । पुराना दलमा देखिएको पुरानो जीर्ण रोगको उपचार केवल नेतृत्व परिवर्तन मात्र होइन, बरु प्रवृत्तिको परिवर्तन हो । बाह्य चुनौतीहरू पहाडजस्तै खडा भएको बेला आफ्नै घरभित्रको आगो निभाउन नसक्नु कांग्रेसका लागि मात्र होइन, समग्र लोकतान्त्रिक प्रणालीकै लागि विडम्बनापूर्ण देखिएको छ ।
मिति २०८२ चैत १९ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।























