पारिश्रमिक वृद्धिको मागमा मणिपाल र जिएमसीका नर्सहरू सातौं दिनदेखि आन्दोलनरत

पारिश्रमिक वृद्धिको मागमा मणिपाल र जिएमसीका नर्सहरू सातौं दिनदेखि आन्दोलनरत

पोखरा । कास्कीको मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज (जिएमसी) मा कार्यरत नर्सहरू एक साता यता आन्दोलित छन् ।

पारिश्रमिक वृद्धिको माग गर्दै मणिपाल शिक्षण अस्पतालका नर्सहरू असोज २४ गतेदेखि आन्दोलन गरिरहेका छन् । यस्तै असोज २७ गतेदेखि जिएमसीका नर्सहरू आन्दोलनमा उत्रिएका छन् ।

नेपाल सरकारले २०८१ मंसिर २७ मा स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा–सुविधा सरकारीसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारी मापदण्डअनुसार नर्सको न्यूनतम पाँचौँ तहको तलब ३४ हजार ७३० रुपैयाँ तोकिएको छ ।

मणिपाल र जिएमसीका नर्सहरुले आफुहरुले १२ हजारदेखि १५ हजारसम्म मात्रै तलब पाउने गुनासो गरेका छन् । अस्पतालले स्टाफ नर्सको रुपमा तोकेर राखेकाले स्टाफ नर्सलाई सरकारले तोकेको पारिश्रमिक दिनुपर्ने नर्सहरूको माग छ ।

मणिपालले २४ हजारदेखि २९ हजारसम्म दिन तयार रहेको प्रेस विज्ञप्तिमार्फ जानकारी गराएको छ । मणिपाल र जिएमसी दुवैले नर्सहरूको मागअनुसार तलब दिन नसक्ने उल्लेख गरेका छन् ।