काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र कलह चुलिएको छ ।
अध्यक्ष लिङ्देनको मनोमानीविरुद्ध भन्दै संस्थापन इतर समूहले अलग्गै बैठक गरेका छन् । सोमबार हात्तीसार, कमलादीस्थित नेपाल हाउसमा उनीहरूले अलग्गै भेला गरेका हुन् ।
सो बैठकमा वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेको नेतृत्वमा उपाध्यक्ष (पदमुक्त भएका) मुकुन्द श्याम गिरी, महामन्त्रीद्वय डा. धवलशमशेर राणा र कुन्तीकुमारी शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, सहायक महामन्त्री प्रेम बलायरलगायत पदाधिकारीसमेत सहभागी रहेका थिए ।
साथै सो बैठकमा बागमती र कर्णाली प्रदेश अध्यक्ष क्रमशः विक्रमबहादुर थापा र दिपबहादुर शाही, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य जगत गौचन, प्रवक्ता (पदमुक्त भएका) सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रबिनकुमार थोकर तामाङ, ऋषिराज देबकोटा र सौरेन्द्र बहादुर शाहलगायत ७० जना सहभागी रहेको जनाइएको छ ।
अध्यक्ष लिङ्देनले अनुशासन समितिका अध्यक्ष नवराज सुवेदीलगायतलाई क्रमशः पदमुक्त गर्ने क्रम बढेपछि इतर समूह थप असन्तुष्ट रहेको बेला यो बैठक बसेको हो ।

























