चीनले गर्‍यो नेपाल, यूएई र इजिप्टका लागि भूउपग्रह प्रक्षेपण

चीनले गर्‍यो नेपाल, यूएई र इजिप्टका लागि भूउपग्रह प्रक्षेपण

काठमाडौं । चीनले बुधबार लिजियन–१ वाई ११ नामक किनेटिका–१ क्यारियर रकेट प्रक्षेपण गरेको छ । रकेटमा नौ उपग्रह सवार थिए, जसमध्ये नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र इजिप्टका लागि तीन अन्तर्राष्ट्रिय ‘पेलोड’ रहेका छन् ।

नौ उपग्रहलाई पूर्वनिर्धारित कक्षमा पुर्‍याएपछि यो प्रक्षेपण मिसन पूर्ण सफल घोषित गरिएको चिनियाँ सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले उल्लेख गरेको छ । प्रक्षेपणयान विकासकर्ता सीएएस स्पेसका अनुसार, चीनको विज्ञान प्रतिष्ठान (सीएएस) का धेरैजसो उपग्रहले सहरी योजना, विपत्ति रोकथाम तथा न्यूनीकरण, जलस्रोत व्यवस्थापन र मौसम विज्ञानजस्ता प्रयोजनलाई सहयोग गर्ने बताइएको छ ।

मिसनमा प्रक्षेपित ‘स्लिपर्स–२ स्याट’ (एस२एस) उपग्रह अन्तरिक्ष प्रतिष्ठान नेपाल र एमेच्योर रेडियो डिजिटल कम्युनिकेसन्स फाउन्डेसनले संयुक्त रूपमा सुरु गरेको शैक्षिक परियोजना हो । यो परियोजनाको उद्देश्य नेपालका सीमान्तकृत समूह, कम आय भएका समुदाय र आदिवासी जनसंख्यालाई प्रेरित, प्रोत्साहित र शैक्षिक सहयोग प्रदान गर्ने रहेको छ । परियोजनाको मुख्य लक्ष्य नेपाली जुनियर–हाई विद्यार्थीलाई स्वतन्त्र रूपमा नेपालको तेस्रो १–यू क्युब्स्याट डिजाइन तथा निर्माण गर्न सहयोग गर्नु हो । साथै, विश्वभरका एमेच्योर–रेडियो प्रयोगकर्ताका लागि एमेच्योर रेडियो ब्यान्डमा सफ्टवेयरमा आधारित डिजिटल रिपिटर प्रणाली प्रदर्शन तथा प्रवद्र्धन गर्नु पनि यस परियोजनाको उद्देश्य रहेको बताइएको छ ।

यसैगरी, ‘अरब उपग्रह ८१३’ सीएएसको सांघाईस्थित इनोभेसन एकेडेमी फर माइक्रोस्याटेलाइट्सले विकास गरेको हाइपरस्पेक्ट्रल पृथ्वी अवलोकन उपग्रह हो । यससँग सम्बन्धित ग्राउन्ड–सिस्टम निर्माणसहित हाइपरस्पेक्ट्रल इमेजर, प्यानक्रोम्याटिक क्यामेरा र वायुमण्डलीय ध्रुवीकरण सुधारकजस्ता मुख्य पेलोड पनि समावेश छन् । लिजियन–१ प्रक्षेपणयानमै सवार एसपिनेक्स उपग्रह इजिप्ट स्पेस एजेन्सी, इजिप्ट एकेडेमी अफ साइन्स र टेक्नोलोजीले संयुक्त रूपमा विकास गरेका हुन् । यसमा प्लाज्मा डायग्नोस्टिक र पृथ्वी अवलोकन पेलोड रहेका छन् । यसको मुख्य मिसन भनेको जलवायु परिवर्तन र आयोनोस्फेरिक परिवर्तनको प्रभाव अनुगमन गर्नु रहेको छ ।

सीएएस स्पेसले अहिलेसम्म २६ घरेलु र ६ अन्तर्राष्ट्रियसहित ३२ उपग्रह ग्राहकलाई सेवा प्रदान गरेको छ । यसको प्रक्षेपण–सेवा फुटप्रिन्ट चीन, युरोप, उत्तर अमेरिका, दक्षिण एसिया, मध्यपूर्व, उत्तर अफ्रिका तथा अन्य क्षेत्रका देशमा फैलिएको छ । लिजियन–१ ले हालसम्म ८४ उपग्रहलाई अन्तरिक्षमा पुर्‍याएको छ, जसको कुल इन–अर्बिट पेलोड भार ११ टनभन्दा बढी पुगेको छ । यसले चीनको व्यावसायिक प्रक्षेपण–सेवा क्षेत्रमा उल्लेखनीय बजार हिस्सा ओगटेको सीएएस स्पेसले जनाएको छ । लिजियन–१ प्रक्षेपण यानका प्रमुख डिजाइनर शी सियाओनिङका अनुसार, सीएएस स्पेसले आगामी दिनमा आफ्नो ‘लिहोङ’ सिरिज स्पेसक्राफ्ट प्रयोग गरी प्रक्षेपण यान पुनःप्राप्ति तथा पुनःप्रयोग प्रविधि परीक्षण गर्ने योजना बनाएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।