भक्तपुर । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नेपालमा राजनीतिक दलप्रति वितृष्णा बढिरहेकै देखिन्छ । त्यसमा पनि ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलप्रति त असाध्यै आक्रोश पोखिने गरेको छ ।
यही आक्रोशको वातावरण सेलाउन नपाउँदै शनिबार भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन भएको छ । यो महाधिवेशनले एमालेले आफ्नो जनाधार बलियो नै रहेको र कमजोर भइनसकेको स्पष्ट सन्देश दिएको छ । जेनजी आन्दोलनपछि महाधिवेशन आयोजना गर्ने पहिलो राजनीतिक दल बनेको एमालेले राजनीतिक दलहरूको जनतामाथिको पकड कायमै रहेको देखाउन सफल भएको दाबी गरेको छ ।
सल्लाघारीस्थित तीनकुने मैदानमा आयोजना गरिएको उद्घाटन समारोहलाई भव्य बनाउन एमालेले देशभरबाट हजारौँ कार्यकर्ता उतारेको थियो । पार्टीले उद्घाटनमा दुई लाख कार्यकर्ता सहभागी गराउने घोषणा गरे पनि स्थलमा करिब ४० देखि ५० हजारको हाराहारीमा मानिसहरू उपस्थित भएको सहभागीहरूकै भनाइ छ । यद्यपि, जेनजी आन्दोलनपछिको राजनीतिक माहोललाई हेर्दा यति ठूलो उपस्थिति आफैंमा एमालेका लागि सन्देशपूर्ण रहेको नेताहरूले बताएका छन् ।
जेनजी आन्दोलनपछि राजनीतिक दलहरू समग्र रूपमा रक्षात्मक अवस्थामा पुगेका थिए । आन्दोलनका क्रममा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टरमार्फत बालुवाटार छोडेर ज्यान जोगाउनुपरेको दृश्य सार्वजनिक भएपछि कार्यकर्तासमेत सार्वजनिक रूपमा नेताहरूको बचाउ गर्न हिच्किचाउने अवस्थामा पुगेको विश्लेषण हुँदै आएको थियो । त्यस्तो परिस्थितिपछि आयोजित महाधिवेशनमार्फत एमालेले आफ्ना कार्यकर्तामा नयाँ उत्साह र आत्मविश्वास सञ्चार गर्न खोजेको देखिन्छ ।
उद्घाटन समारोहमा एमालेले जेनजी आन्दोलनका क्रममा भएका घटनालाई केन्द्रमा राखेर अबको राजनीतिक दिशा तय गर्ने संकेत पनि दिएको छ । समारोहमा देखाइएको एक भिडिओमा सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाइएको दृश्य समेटिएको थियो। अध्यक्ष ओलीले आफ्नो सम्बोधनमा ती घटनालाई राज्यको मेरुदण्ड नै भाँच्ने उद्देश्यसहित गरिएको गम्भीर षड्यन्त्रको संज्ञा दिए । संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन संसद वा निर्वाचन नै पर्याप्त विकल्प भएको उल्लेख गर्दै उनले लोकतन्त्र ध्वस्त पार्ने, शून्यता सिर्जना गर्ने र राज्यलाई अस्थिरतामा धकेल्ने योजनाबद्ध प्रयास भएको दाबी गरे ।
ओलीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई हजारौँ कार्यकर्ताको उपस्थितिमै श्रद्धाञ्जलि अर्पण गरे। त्यससँगै उनले जेनजी समूहहरूप्रति लक्षित गर्दै एमालेसँग भिड्न नआउन घुमाउरो भाषामा चेतावनी पनि दिए । सिमरामा महासचिव शंकर पोखरेलसहितका नेताहरू कार्यक्रम स्थलमा जान नपाएको र पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमाथि रंग छ्यापिएको घटनाको प्रसंग पनि ओलीको सम्बोधनमा परोक्ष रूपमा जोडिएको थियो । एमालेमाथि जेनजी विरोधीको आरोप लगाइएको भन्दै ओलीले कार्यकर्तालाई विगतका यस्तै आरोपहरू सम्झाए । ३० वर्षअघि वृद्धवृद्धा विरोधी, सशस्त्र द्वन्द्वकालमा क्रान्तिविरोधी, मधेस आन्दोलनका बेला मधेसविरोधी र पहिचानविरोधी भनिएको स्मरण गराउँदै उनले ती सबै आरोप चिर्दै आएको दाबी गरे । मधेसमा अहिले एमाले पहिलो पार्टी बनेको उदाहरण दिँदै उनले जेनजी विरोधीको आरोपलाई पनि चिरेरै अघि बढ्ने विश्वास व्यक्त गरे ।
महाधिवेशनले पार्टीभित्र एकताको सन्देश दिन खोजेको पनि स्पष्ट देखियो। ओलीले एघार अंकको उदाहरण दिँदै दुईवटा ‘एक’ सँगै उभिँदा मात्रै एघार बन्ने बताए । उनले उद्घाटन समारोहको सम्बोधनमा कुनै पनि राजनीतिक दललाई होच्याउने वा व्यक्तिगत नेतामाथि आक्रमण गर्ने शैली अपनाएनन् । सुरक्षित नेपालको पहिलो सर्त आपसी एकता भएको उल्लेख गर्दै उनले एमाले–एमालेबीच हात मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए । साथै, एमालेले आफू निर्वाचनका लागि तयार रहेको सन्देश पनि दिएको छ। स्वागत मन्तव्य दिएका महासचिव शंकर पोखरेलले संसद पुनर्स्थापनाको विषय उठाएनन् भने ओलीले पनि निर्वाचनका लागि पार्टी तयार रहेको बताए, तर फागुन २१ गते चुनाव नहुने स्पष्ट पारे । उनले संसद् पुनर्स्थापनाको संकल्पलाई नै अहिलेको प्राथमिकता बनाउनुपर्ने धारणा राखे ।
यसअघि निर्वाचनका लागि दल दर्ता र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एकै दिन मुद्दा दर्ता गरेको एमालेले महाधिवेशनमार्फत पुनः संसद पुनर्स्थापना र चुनाव दुवै विषयलाई सँगसँगै अघि बढाउने संकेत दिएको छ । समग्रमा, सल्लाघारीको महाधिवेशन उद्घाटनले जेनजी आन्दोलनपछि पनि एमाले कमजोर नपरेको, पार्टीभित्र एकता कायम रहेको र आगामी राजनीतिक संघर्ष तथा निर्वाचनका लागि तयार रहेको बहुआयामिक सन्देश दिएको देखिन्छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




























