काठमाडौं । अमेरिकाले एकैदिन डिपोर्ट (निष्कासन) गरेका ९१ जनामध्ये ८० जना नेपाली नागरिक चार्टर विमानमार्फत काठमाडौं आइपुगेका छन् ।
सोमबार (माघ ५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनीहरूलाई अध्यागमन प्रक्रिया पूरा गराई नेपाल प्रहरीको जिम्मा लगाइएको हो । डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेयता एकैदिन यति ठूलो संख्यामा नेपाली नागरिक डिपोर्ट गरिएको यो पहिलो घटना हो । यसले पछिल्लो समय अमेरिकाले अवैध आप्रवासनप्रति अपनाउँदै आएको कडा नीतिको संकेत गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीका अनुसार डिपोर्ट गरिएका ८० जना नेपालीलाई अमेरिकाले विशेष चार्टर विमानमार्फत नेपाल पठाएको हो । “अमेरिकाबाट डिपोर्ट भएर एकैदिन ८० जना नेपाली काठमाडौं आइपुग्नुभएको छ । उहाँहरूलाई अमेरिकाले चार्टर विमानमा राखी पठाएको हो,” भण्डारीले बताए ।
अमेरिकाले पछिल्ला केही महिनायता ठूलो संख्यामा नेपाली नागरिकलाई एकैपटक डिपोर्ट गर्दै आएको छ । यसअघि पुस ३ गते ७५ जना नेपालीलाई चार्टर विमानमार्फत नेपाल पठाइएको थियो । त्यसैगरी गत भदौ १९ गते र जेठ २५ गते पनि अमेरिकाले एकैदिन ३७–३७ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको थियो । अध्यागमन स्रोतका अनुसार यसरी एकैदिन ठूलो संख्यामा चार्टर विमानमार्फत डिपोर्ट गर्ने अभ्यास पछिल्ला वर्षहरूमा बढ्दो क्रममा छ । यसलाई अमेरिकाले आफ्नो आप्रवासन नीति कडाइका साथ कार्यान्वयन गरिरहेको संकेतका रूपमा लिइएको छ ।
अमेरिकाले कानुनी आधार स्थापित नगरी बसोबास गरिरहेका नेपाली नागरिकलाई डिपोर्ट गरिएको स्पष्ट पार्दै आएको छ । अवैध बाटोबाट अमेरिका प्रवेश गरेको, भिसाको अवधि सकिएपछि पनि बसेको, वा गलत उद्देश्यले बसोबास गरेको आरोप उनीहरूमाथि लगाइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट हुनुभन्दा केही दिनअघि नै त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ । विमानस्थलमा आइपुगेपछि अध्यागमन प्रक्रिया पूरा गराई उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइन्छ ।
प्रायः अवैध बाटो हुँदै अमेरिका पुगेकाहरू डिपोर्टमा पर्ने गरेका कारण नेपाल प्रहरीले उनीहरूसँग विस्तृत सोधपुछ गर्ने गरेको छ । विशेषगरी उनीहरूलाई अमेरिका पुर्याउने मानव तस्कर, प्रयोग गरिएका रुट र संलग्न समूहबारे जानकारी लिने काम प्रहरीले गर्दै आएको छ । नेपाल प्रहरीका अनुसार यस्तो सूचनाले मानव तस्करी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । डिपोर्ट भई आएका ८० जनामध्ये एकजना विद्यार्थी भिसामा अमेरिका पुगेका युवा रहेको खुलेको छ । उनी भिसाको अवधि सकिएपछि पनि बसोबास गरेको ‘ओभर स्टे’ कसुरमा अमेरिकाको अध्यागमन नियन्त्रणमा परेका थिए । ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार बाँकी ७९ जना भने अवैध बाटो हुँदै विभिन्न मितिमा अमेरिका पुगेका पाइएको छ । “उनीहरू प्रायः अवैध मार्ग प्रयोग गरेर अमेरिका पुगेका देखिन्छन्,” पंगेनीले बताए ।
अमेरिकाले डिपोर्ट गरेका थप ११ जना नेपाली नागरिक भने विभिन्न व्यावसायिक विमानमार्फत नेपाल आउने तयारीमा रहेका छन् । उनीहरू पनि अमेरिकामा बस्न कानुनी आधार स्थापित नगरेका व्यक्ति रहेको जनाइएको छ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएयता हालसम्म ५८३ जना नेपाली नागरिक डिपोर्ट भइसकेका छन् । ट्रम्प प्रशासनले अवैध आप्रवासन नियन्त्रणलाई प्राथमिकतामा राख्दै आएको छ । अमेरिकाले अवैध तरिकाले प्रवेश गरेको, बिनाभिसा बसेको, वा गलत मनसायले बसोबास गरेको भन्दै नेपालीसहित विभिन्न देशका नागरिकलाई डिपोर्ट गर्दै आएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




























