वासिङटन डिसी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् कि भारतले भेनेजुएलाबाट तेल किन्न पहिले नै सम्झौता गरिसकेको छ र चीनलाई पनि त्यस्तै गर्न स्वागत छ ।
राष्ट्रपति विमानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘चीनलाई तेलसम्बन्धी राम्रो सम्झौता गर्न आउन स्वागत छ । हामीले पहिले नै सम्झौता गरिसकेका छौँ । भारत आउँदैछ र उनीहरूले इरानबाट होइन, भेनेजुएलाबाट तेल किन्नेछन् । त्यसैले हामीले यस सम्झौताको अवधारणा पहिले नै बनाइसकेका छौँ ।’
उनले फेरि दोहोर्याउँदै भने, ‘हामीले पहिले नै सम्झौता गरिसकेका छौँ । भारत आउँदैछ र उनीहरूले इरानको सट्टा भेनेजुएलाको तेल किन्नेछन् । तर चीनलाई पनि तेल किन्न स्वागत छ ।’ हालसम्म भारतीय सरकारले ट्रम्पको यस भनाइबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।
यसअघि ट्रम्पले भेनेजुएलाले अमेरिकालाई ५० मिलियन ब्यारेल तेल प्रस्ताव गरेको र त्यसको मूल्य करिब ५ अर्ब २० करोड अमेरिकी डलर बराबर हुने बताएका थिए । उनले उक्त प्रस्ताव आफूले स्वीकार गरिसकेको पनि बताएका छन् ।
दक्षिणी बुलेभार्डको नाम परिवर्तन गरेर ‘डोनाल्ड ट्रम्प बुलेभार्ड’ राख्ने कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले भने, ‘हामी नयाँ राष्ट्रपति र देश चलाइरहेका धेरै व्यक्तिसँग कुरा गरिरहेका छौँ । उनीहरूले भने, हामीसँग ५० मिलियन ब्यारेल तेल छ र भण्डारण गर्ने ठाउँ छैन, त्यसैले तुरुन्त प्रशोधन गर्नुपर्छ । के तपाईंले लिनुहुन्छ ? मैले भने ,हामी लिन्छौँ । यसको मूल्य करिब ५ अर्ब २० करोड अमेरिकी डलर बराबर हुन्छ ।’
ट्रम्पले भेनेजुएलाको अस्थायी सरकारसँग आफ्नो ‘उत्कृष्ट सम्बन्ध’ रहेको भन्दै भने, ‘हामीसँग अहिलेका अस्थायी राष्ट्रपति र अरू सबैसँग राम्रो सम्बन्ध छ । धेरै दबाब हटेको छ ।’
पूर्व भेनेजुएलाली राष्ट्रपति निकोलास मादुरोलाई सैनिक कारबाहीमार्फत नियन्त्रणमा लिएपछि, ट्रम्पले संक्रमणकालमा अमेरिकाले भेनेजुएला सञ्चालन गर्ने र त्यहाँको तेल तथा अन्य स्रोतहरूमा पूर्ण पहुँच चाहिने स्पष्ट पारेका थिए ।
ट्रम्पका यी भनाइहरूले न्युयोर्कस्थित समाचार माध्यम ‘सेमाफोर’ को हालैको प्रतिवेदनलाई पनि पुष्टि गर्छ, जसअनुसार अमेरिकाले पहिलो पटक करिब ५० करोड अमेरिकी डलर बराबरको भेनेजुएलाली तेल बिक्री गरेको छ ।
उक्त प्रतिवेदनअनुसार तेल बिक्रीबाट आएको रकम हाल अमेरिकी सरकारले नियन्त्रण गर्ने बैंक खाताहरूमा राखिएको छ । प्रशासनका एक अधिकारीका अनुसार मुख्य खाता कतारमा रहेको छ ।


























