‘२२ जिल्लाको मधेश बनाउन संघर्ष जारी छ’

‘२२ जिल्लाको मधेश बनाउन संघर्ष जारी छ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादवले पहिचानको आधारमा आठ जिल्लाको मधेश प्रदेश बनेको भन्दै २२ जिल्लाको मधेश बनाउन आफूहरुको संघर्ष जारी रहेको बताएका छन् ।

सप्तरीको राजगढ गाउँपालिका–४, बेल्ही चपेनामा आइतबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अनेकौ चुनौतिका बाबजुद आठ जिल्लाको मधेश प्रदेश बनाउन सफल भएको बताउँदै उनले भने, ‘देशमै पहिचानमा आधारित प्रदेश मधेश मात्र हो, अब २२ जिल्लाको मधेश निर्माण गर्नका लागि जसपा नेपाल बलियो शक्ति भएर उदाउनु जरुरी छ ।’

सिमान्तकृत, बहिष्कृत, शोषित, अपमानित एवम् पछाडि पारिएका समुदायको अधिकार, पहिचान, शासन सत्ता, शक्ति, श्रोत साधनमा अवसर न्याय र समानताका लागि नै मधेश जनविद्रोह भएको अध्यक्ष यादवले बताए । राज्यका अंगहरुमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित भएको बताउँदै उनले भने ‘नेपालको जस्तो महिलाको भागिदारी चीन, अमेरिका, जापान, बेलायतमा समेत छैन, यी सबै परिवर्तन जनविद्रोहबाटै सम्भव भएको हो ।’

संघीयता विरोधी शक्तिहरुले मधेशी, महिला, दलित, जनजाती, आदिवासी, जनजाती, थारु लगायत पछाडि पारिएका समुदायले प्राप्त गरेको अवसर र प्रतिनिधित्व खोस्नका लागि उद्दत रहेको जसपा अध्यक्ष यादवले आरोप लगाए । प्रदेशलाई अधिकारै नदिएर काम गर्न नसकेको, खर्चिलो भयो जस्ता गलत भाष्य निर्माण भइरहेकोले त्यस्ता भ्रमहरुमा नपर्न उनले जनसमुदायसँग आग्रह गरे ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।