नयाँ सरकार निर्माण हुँदा नेपालको सार्वजनिक प्रशासनमा चर्चित भनाइ सुनिन्छ, ‘हानिमुन पिरियड’ ।
नयाँ सरकार गठन भएपछि सुरुका केही महिना बधाइ, शुभकामना र भोजभतेरमै बित्ने र कामको गति सुस्त हुने प्रवृत्ति देखिन्थ्यो । तर नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहले यसपटक हनिमुन पिरियडलाई पूर्णतः अस्वीकार गरिदिएका छन् ।
पदभार ग्रहण गरेको ७२ घण्टा नबित्दै उनले मन्त्रीहरूलाई बोलाएर कार्यसम्पादनको रिपोर्ट माग्नु र नतिजामा कुनै सम्झौता नगर्न निर्देशन दिनुले सिंहदरबारमा नयाँ कार्यसंस्कृतिको उदय भएको भन्न सकिन्छ ।
प्रधानमन्त्री बालेनको सक्रियता केवल औपचारिकतामा सीमित छैन, उनले मन्त्री र प्रशासनिक अधिकार दुवै पक्षलाई सजग गराएका छन् । मन्त्रालयगत कामको वस्तुगत अवस्था बुझ्नु र कर्मचारीतन्त्रबाट हुन सक्ने सम्भावित ढिलासुस्ती वा असहयोगलाई सुरुमै निस्तेज पार्न उनले स्पष्ट निर्देश गरेका छन् ।
प्रधानमन्त्रीले मन्त्रीहरूलाई भनेका छन्, ‘अप्ठ्यारो भए म समाधान गर्छु, तर आफ्नो जिम्मेवारीको काम प्राथमिकतामा राख्नुपर्छ ।’ यसले नेतृत्वको स्पष्टता र जवाफदेहितालाई देखाएको छ । उनको निर्देशनले मन्त्रीहरूलाई एकातिर काम गर्ने हौसला प्रदान गरेको छ भने अर्कोतिर परिणाम ननिकाले पद खतरामा पर्न सक्ने चेतावनी समेत दिएको छ ।
नेपालको शासन व्यवस्थामा मन्त्रालयभित्र मन्त्री र सचिवबिचको समन्वय कहिलेकाहीँ संघर्षपूर्ण रहने गरेको छ । राजनीतिक नेतृत्वले नचाहेर पनि प्रशासनिक संयन्त्रको सुस्त कार्यशैलीका कारण फाइलहरू वर्षौँसम्म थन्किने गरेका कैयौ उदाहरण छन् । प्रधानमन्त्री बालेनले ढिलासुस्तीको समस्यालाई बुझेर नै सचिवहरूलाई समेत मन्त्रीसँग पूर्ण समन्वय गर्न निर्देशन दिएका छन् । प्रशासनिक तहबाट हुने कुनै पनि प्रकारको अवरोधलाई नसहने उनको अडानले कर्मचारीतन्त्रलाई पनि नतिजामुखी बन्न बाध्य पारेको छ ।
मन्त्रिपरिषद् बैठकले पारित गरेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूची वर्तमान सरकारको मुख्य अग्निपरीक्षा हो । कार्यसूची राजनीतिक दस्तावेज मात्र नभई जनतासँग जोडिएको सूची हो ।
शासन र प्रशासनलाई प्रधानमन्त्री बालेनले दिएको नतिजामुखी निर्देशनपछि अब सिंहदरबारमा फाइलहरू थन्किएर बस्ने छुट कसैलाई छैन । जनताले परिवर्तनको अनुभूति भोलि होइन, आजै र अहिल्यै खोजिरहेका छन् । प्रधानमन्त्रीको सक्रियता र मन्त्रीहरूको तत्परताले आमनागरिकमा जागेको आशालाई परिणाममा बदल्न सके मात्रै नयाँ सरकारको परीक्षण सफल हुनेछ ।
मिति २०८२ चैत १७ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



























