रवि लामिछानेको बयान : भीडले धकेल्दै कारागारबाहिर पुर्‍यायो

रवि लामिछानेको बयान : भीडले धकेल्दै कारागारबाहिर पुर्‍यायो

काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिरिएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जाँचबुझ आयोगसमक्ष दिएको बयानमा आफूलाई भीडले जबरजस्ती बाहिर निकालेको बताएका छन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई दिएको बयानमा लामिछानेले कारागार प्रशासनले थुनामुक्त गर्ने औपचारिक प्रक्रिया पूरा नगर्दै आफू बाहिरिएको उल्लेख गरेका छन्। आयोगका अनुसार लामिछानेले भदौ २३ गतेसम्म कारागारको अवस्था सामान्य रहेको बताएका छन्। तर भदौ २४ गते दिउँसो करिब १२ः३० बजे कारागार प्रशासनले बाहिरको अवस्था असामान्य भएको जानकारी गराउँदै ठूलो भीड जम्मा भएको र आफूलाई परिवार तथा पार्टीको जिम्मा लगाएर बाहिर पठाउनुपर्ने अवस्था आएको बताएका थिए।

बयानमा लामिछानेले अदालतको आदेशबिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरेको उल्लेख गरेका छन्। तथापि, प्रशासनले भीडलाई आफूले नै सम्झाउन सक्ने भन्दै बारम्बार आग्रह गरेपछि कारागार प्रांगणभित्रैबाट सम्बोधन गर्न तयार भएको उनले बताएका छन्। आयोगलाई दिएको विवरणअनुसार स्थिति नियन्त्रणबाहिर जाँदा भीडले उनलाई धकेल्दै कारागार बाहिर पुर्‍याएको थियो। त्यसपछि उनी कारागार नजिकैको एक रेस्टुरेन्टको बार्दलीमा चढेर भीडलाई शान्त रहन, संयम अपनाउन तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गरेको उनले बताएका छन्।

लामिछानेले कारागार प्रशासनले आफूलाई थुनामुक्त गर्ने पत्र तयार गरिरहेको भए पनि उक्त पत्र तयार नहुँदै भीडले बाहिर निकालेको बताएका छन्। पछि उक्त पत्र आएको जानकारी पाए पनि त्यसमा आफ्नो कुनै सहभागिता नरहेको र त्यससम्बन्धी जिम्मेवारी कारागार प्रशासनले लिनुपर्ने उनको भनाइ छ। उनले आफू निस्कन नचाहँदा नचाहँदै प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाएर बाहिर पठाइएको दाबी गरेका छन्। आयोगसमक्ष उनले भदौ २४ को घटनामा आफ्नो तथा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन्। रास्वपाले कुनै पनि हिंसात्मक गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका नखेलेको उल्लेख गर्दै यदि कोही संलग्न भेटिए कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिएको उनले बताएका छन्।

बयानअनुसार कारागारबाट बाहिरिएपछि उनी शुभेच्छुकहरूको सहयोगमा कलाकार रामकृष्ण ढकालको गाडीमार्फत सुरक्षित स्थानमा पुगेका थिए। त्यसपछि उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखहरूलाई आफ्नो अवस्थाबारे जानकारी गराएको बताएका छन्। सोही साँझ उनले भिडियो सन्देशमार्फत आफू सुरक्षित रहेको र अदालतमा पुनः उपस्थित हुने जानकारी सार्वजनिक गरेका थिए। लामिछानेले भदौ २८ गते सुरक्षाको प्रत्याभूति पाएपछि पुनः नख्खु कारागार फर्किएको पनि बताएका छन्। आयोगलाई दिएको बयानमा उनले यस घटनाबाट सिक्दै कारागार सुधारका लागि ‘खुला कारागार’ नीति लागू गर्नुपर्ने, कैदीबन्दीको मानसिक स्वास्थ्य तथा कानुनी परामर्श प्रणाली सुदृढ गर्नुपर्ने र कैदी पुनर्समीक्षा संयन्त्र स्थापना गर्नुपर्ने सुझाव दिएका छन्।समग्रमा आयोगको प्रतिवेदनमा समावेश लामिछानेको बयानले नख्खु कारागारबाट बाहिरिएको घटना स्वेच्छिक नभई परिस्थितिजन्य र भीडको दबाबमा भएको दाबी प्रस्तुत गरेको छ भने उक्त घटनामा आफ्नो राजनीतिक संलग्नता नरहेको स्पष्ट पार्ने प्रयास गरेको देखिन्छ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।