काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपालले इङ्ल्यान्डसँग ४ रनको साँघुरो हार खेले पनि यो खेल नेपाली क्रिकेटको इतिहासमा विशेष महत्व राखेको छ । अंक तालिकामा हार भए पनि खेलको समग्र प्रदर्शनले नेपाल क्रिकेटको परिपक्वता र आत्मविश्वासको स्पष्ट संकेत दिएको छ ।
विश्व क्रिकेटका शीर्ष टोलीमध्ये एक इङ्ल्यान्डलाई अन्तिम ओभरसम्म दबाबमा राख्नु आफैंमा नेपाली क्रिकेटको ठूलो उपलब्धि हो । १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले खेललाई २० ओभरसम्म पुर्याउनु आफैंमा ऐतिहासिक छ । कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको ८२ रनको साझेदारीले नेपाललाई हारको किनारबाट फर्काउने आधार तयार पारेको थियो । ऐरीले ४४ रनको इनिङ खेलेर टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पुरा गरे, जुन नेपाली क्रिकेटको अर्को ऐतिहासिक क्षण हो ।
रोहितको संयमित ३९ रनले पनि टोलीलाई खेलमा टिकाइराख्न महत्त्वपूर्ण भूमिका खेलेको थियो । खेलको निर्णायक मोड अन्तिम दुई ओभरमा देखा पर्यो । १२ बलमा २४ रन आवश्यक रहँदा लोकेश बमले आक्रामक ब्याटिङ गर्दै इङ्ल्यान्डलाई दबाबमा राख्ने प्रयास गरे । उनले जोफ्रा आर्चरविरुद्ध प्रहार गरेका दुई छक्काले समर्थकहरूमा ठूलो उत्साह जगाएको थियो ।
तर अन्तिम ओभरमा १० रन आवश्यक रहँदा स्ट्राइक रोटेसनमा समस्या र अनुभवको कमीले नेपाललाई हार तर्फ ढाल्यो । यो खेलले नेपालका केही कमजोरी पनि उजागर गर्यो । डेथ ओभरमा स्पष्ट योजना अभाव, दबाबमा सही निर्णय लिन नसक्नु, र अनुभवी फिनिशरको कमीले सानो गल्ती पनि निर्णायक साबित हुन सक्छ भन्ने देखायो ।
तर सकारात्मक पक्ष झन् बलियो देखियो । बलिङतर्फ डेब्यू खेलाडी शेर मल्लले पहिलो बलमै विकेट लिए, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवका प्रभावशाली स्पेल, र सन्दीप लामिछानेको नियन्त्रणात्मक बलिङले नेपाल विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखायो । ऐरी टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट लिने बलर बन्नु पनि महत्वपूर्ण उपलब्धि हो ।
खेलको विशेष आकर्षण मुम्बईको वानखडे रंगशालामा १७ हजार दर्शकको उपस्थिती थियो, जसमा अधिकांश नेपाली समर्थक थिए । नेपाली फ्यानहरूको उत्साह र बाक्लो उपस्थिति खेलको अर्को ऐतिहासिक पक्ष बनेको थियो । टोलीले ठूलो दबाबका बाबजुद उत्कृष्ट खेल प्रदर्शन गरेकाले फ्यानहरूमा नेपाली क्रिकेटप्रति विश्वास अझ दृढ बन्यो ।
नेपालको हारले अंक त दिन सकेन, तर आत्मविश्वास भने अवश्य दियो । बाँकी खेलहरूमा यही स्तरको प्रदर्शन र अन्तिम क्षणमा थोरै सुधार गर्न सके नेपाल समूह चरणबाट अघि बढ्ने सम्भावना अझै बलियो छ ।
इङ्ल्यान्डविरुद्धको यो खेल नतिजाले होइन, नेपाल क्रिकेटको भविष्यका लागि दिएको आशाले लामो समयसम्म सम्झिने अनुभव बनेको छ । नेपाल क्रिकेट फ्यानहरूका लागि यो खेल केवल हार–जीतको कुरा नभई नेपाली टोलीले विश्व स्तरमा देखाएको साहस र सम्भावनाको प्रतीक बनेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।


























