प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र त्रिभुवन आर्मी विजयी

प्रधानमन्त्री कप क्रिकेट : एपीएफ र त्रिभुवन आर्मी विजयी

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार सम्पन्न खेलमा विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।

जनकपुरको राम जानकी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनायो । एपीएफका लागि सन्दीप जोराले ५५ रन, लोकेश बमले ४७, दिपक बोहोरा ४६ र सुमित महर्जन ४१ रन बनाउँदै योगदान दिए ।

सुदूरपश्चिमले २६० रनको लक्ष्य पछ्याएको भए पनि ४६.३ ओभरमा सबै विकेट गुमाएर २१४ रन मात्र बनाउन सक्यो । अशोक धामीले ५० रन बनाए, तर अन्य ब्याट्सम्यानले पर्याप्त योगदान गर्न सकेनन् । बलिङमा एपीएफका युवराज खत्रीले १० ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए । शेर मल्लले ३ विकेट लिए भने विकास अग्री र अशोक धामीले २–२ विकेट लिए ।

यो जितसँगै एपीएफ ७ खेलमा ७ अंकसहित छैटौँ स्थानमा रह्यो, जबकि सुदूरपश्चिम ७ खेलमा १० अंकसहित दोस्रो स्थानमा झरेको छ । वीरगञ्जमा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ रनले हरायो। पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभरमा सबै विकेट गुमाएर २६८ रन बनायो। आर्मीका लागि अर्जुन साउदले १२१ रनको शतकीय पारी खेले ।

कर्णालीले २६९ रनको लक्ष्य पछ्याएको भए पनि ४२.१ ओभरमा १३० रनमा अल आउट भयो। कर्णालीका लागि विपिन शाहीले ४० रन बनाए । आर्मीका शाहब आलम र बसिर अहमदले समान ३–३ विकेट लिए भने आकाश चन्दले २ तथा दुर्गेश गुप्ता र नरेन साउदले समान १–१ विकेट लिए ।

यो जीतसँगै आर्मी ६ खेलमा ११ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। कर्णाली ७ खेलमा ३ अंकसहित नवौँ स्थानमा छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।