आर्मीलाई पराजित गर्दै गोल्डेनगेट एचजेएनबीएल च्याम्पियन

आर्मीलाई पराजित गर्दै गोल्डेनगेट एचजेएनबीएल च्याम्पियन

काठमाडौं । हिमालयन जाभा नेशनल बास्केटबल लिग २०२६ (एचजेएनबीएल) को उपाधि गोल्डेनगेट बास्केटबल क्लबले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेनगेट बास्केटबल क्लब ले त्रिभुवन आर्मी क्लब लाई ९५–७४ ले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहल मा सम्पन्न फाइनल खेलमा गोल्डेनगेटले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै आर्मीमाथि दबाब कायम राखेको थियो। यस जितसँगै गोल्डेनगेटले यसअघि लिग चरण र पहिलो क्वालिफायरमा भोगेका लगातार तीन हारको बदला समेत लिएको छ ।

खेलको पहिलो क्वाटरमै गोल्डेनगेटले २४–१४ को अग्रता बनाउँदै आफ्नो पकड बलियो बनाएको थियो । दोस्रो क्वाटर पनि १७–१२ ले आफ्नो पक्षमा पार्दै उसले हाफटाइमसम्म ४१–२६ को सहज अग्रता कायम गर्‍यो ।

तेस्रो क्वाटरमा आर्मीले केही सुधारिएको प्रदर्शन गर्दै अन्तर घटाउने प्रयास गरे पनि गोल्डेनगेटले २७–२५ ले क्वाटर जित्दै समग्रमा १७ अंकको अग्रता जोगायो । अन्तिम क्वाटरमा पनि गोल्डेनगेटले आफ्नो लय कायम राख्दै २७–२३ ले अग्रता बढायो र अन्ततः ९५–७४ को स्पष्ट अन्तरमा जित निकाल्दै उपाधि हात पार्‍यो ।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा तथा हिमालयन जाभा को मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको थियो । डबल राउण्ड रोविन लिग प्रणालीअनुसार सञ्चालन गरिएको प्रतियोगिताबाट शीर्ष चार टोली प्लेअफमा प्रवेश गरेका थिए ।

उपाधिसँगै गोल्डेनगेटले ट्रफीसहित ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आर्मीले २ लाख रुपैयाँमा चित्त बुझायो । तेस्रो स्थान हासिल गरेको टाइम्स बास्केटबल क्लब ले १ लाख रुपैयाँ प्राप्त गरेको छ ।

यस जितले गोल्डेनगेटलाई नेपाली बास्केटबलमा थप सशक्त टोलीका रूपमा स्थापित गरेको छ । लिगभर देखाएको निरन्तर प्रदर्शन र फाइनलमा प्रस्तुत गरिएको उत्कृष्ट टिमवर्कका कारण गोल्डेनगेटले उपाधि जित्न सफल भएको विश्लेषण गरिएको छ ।

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।