आज मेरो डायरीको पन्नाबाट अर्को लेखको रूपमा आएको छ ‘वर्तमान निर्वाचनको समीक्षा’ सम्बन्धी अनुसन्धानात्मक प्रस्तुति । मेरो छोटो समयको अनुसन्धानले निकालेको निचोडमा २०८२ फागुन २१ गतेको निर्वाचनको नतिजा सम्बन्धी चर्चा–विचर्चा स्थानीय बजारमा भएको जानकारी गराउँछु ।
स्थानीय बजार, टोल, समुदाय, घरदैलो, चौतारा र चिया पसलमा स्थानीय जनता भेला भई आ–आफ्नो विचार–विमर्श निर्वाचनको नतिजामा छलफल गरी अन्तर्क्रिया समेत गरेको पाइन्छ । भेलामा सहभागी हुने व्यक्तिहरूमा ज्येष्ठ नागरिक, महिला, बालबालिका, जेन्जी युवाहरू, विज्ञहरू लगायतको सक्रियता देखिन्थ्यो । भेलाको एजेन्डा भनेको वर्तमान निर्वाचनको नतिजा सम्बन्धी विश्लेषण गरेको पाइन्थ्यो । पुराना दलहरूको कामको मूल्यांकन गरेको पाइन्थ्यो ।
नेपालमा अब असली लोकतन्त्र आएको देखिन्छ । त्यसैले होला, नेपाली जनताले आफूले सोचेको जस्तो नतिजा यसपालिको निर्वाचनमा देखाइदिएको छ । अबको न्यायाधीश भनेको नेपाली जनता हुन् भनी सम्झिनुपर्छ । नेपालमा आउनुपर्ने नतिजा यहीँ नै हो र आएर छाड्यो । अझ ज्येष्ठ नागरिकहरूले भनेका थिएँ, स्याबास नेपाली जनता ! तपाईंहरूलाई राम्रो काम गरेको उपलक्ष्यमा हार्दिक धन्यवाद छ ।
नेपालका राजनीति दलहरूको दम्भ र घमण्डलाई नेपाली जनताले चकनाचूर गरिदिएर राम्रो भएको छ । यसभन्दा पहिले नेपालका दलहरूले बिचमै सरकार ढाल्ने, सांसदको जोडघटाउ गर्ने र विकासको काममा नलाग्ने भएकाले यस्तो नतिजा आएको हो भनेको पाइन्छ । नेपाली जनता वाक्कदिक्क भएर यसपालिको निर्वाचनमा देखाइदियो । जनताहरू मौका कहिले आउला र देखाउला भन्ने आशमा बसेका थिए । यसपालिको नेतृत्व नेपालका युवाहरूलाई दिएको छ र पुराना दलहरूलाई खुम्च्याइदिएको छ । ५ वर्षका लागि युवाहरूले नेतृत्व गर्ने गरी बहुमत दिएको छ । युवाहरूको सरकारले पनि उस्तै कार्यशैली गरेमा पछि नेपाली जनताले राम्रो मूल्यांकन गर्नेछन् । नेपालका चिया पसलहरूमा भेला भएका नेपाली जनताहरूले निकालेको निचोड यस्तो छ ।
पुराना राजनीतिक दलहरूप्रतिको वितृष्णा, कार्यशैली र २०८२ भदौ २३–२४ गतेको जेन्जी आन्दोलनमा गरेको दमनले गर्दा सबै पुराना राजनीति दलहरूलाई सत्तामा आउन पर्खाल लगाइदिएको छ । पुराना दलहरूले नेपाली जनताले चाहेको जस्तो विकासमा अगाडि नपढेकाले यस्तो स्थिति आएको भनेका छन् । नेपाली जनताले चाहेको थियो, नेपालमा भ्रष्टाचार निर्मूल, सुशासनको स्थापना, आधुनिक कृषि क्रान्ति, बेरोजगारीे अन्त्य, स्वरोजगार स्थापना, पर्यटन विकास, सबैको घरदैलोमा समृद्धि, महिलाको सशक्तीकरण, उधोगधन्दाको विस्तार, विदेशिएका युवाहरूलाई स्वदेश फिर्ता ल्याई रोजगारी दिने, प्राविधिक शिक्षाको थालनी, बालबालिकाको अधिकार तथा विकास, देशमा भइरहेको बलात्कार र हिंसाको अन्त्य, बालविवाहको अन्त्य, छुवाछुत तथा विभेदको अन्त्य, समावेशी समाजको स्थापना, गाउँघरमा निःशुल्क सुस्वास्थ्य र नेपाली जलस्रोतको सही प्रयोग । जुन पूरा नहुँदा यस्तो नतिजा आएको भनेका छन् । नेपाली जनताको आवाजलाई कसैले नसुनेकाले पनि यो परिणाम आएको हो । यस नतिजामा कुनै देशको घुसपैठ र हात पनि छैन । हाल नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई साथ दिएको कारण सबै जनप्रतिनिधि युवाहरू छन् र प्रधानमन्त्रीको नेतृत्व लिने व्यक्ति पनि युवा हुने पहिलेदेखि घोषणा गरेकाले सो पार्टीलाई एकपटक सत्तामा पुर्याएमा देशको मुहार फेरिन्छ कि भनि सबैले विश्वास गरेको हो । त्यसैले युवाहरूको सोचले नेपालमा नयाँ परिवर्तन ल्याउँछन् भन्ने सोचमा यस्तो परिणाम आएको हो । युवा जनप्रतिनिधिहरूको नयाँ सोच, नयाँ विचार, नयाँ परिवर्तन, नयाँ विकासका लागि अगाडि बढ्ने विश्वासले नेपाली जनताले मत दिएका हुन् र त्यसैले नेपालमा विकासको ब्राण्डिङ गरी विश्वमा नेपालको नयाँ परिचय दिने विश्वासका साथ बहुमत दिएको हो । यसका लागि पुरानो अनुभवको आवश्यकता चाहिँदैन । नयाँ विचार र अनुसन्धानको आधारमा विकास अगाडि बढाउन सकिन्छ भन्ने सोचले यो कदम अगाडि बढेको हो भन्दछन् नेपाली जनता । उही पुराना दलहरूको जस्तो शैलीले काम गरेमा उहीँ पुराना दलको जस्तो मूल्यांकन रास्वपाको पनि हुनेछ ।
अझै पनि सबै राजनीतिक दलहरू आफ्नो गल्ती स्वीकार नगरी सुधारको पक्षमा नलागेमा फेरि यस्तै अवस्था भविष्यमा आउनेछ र सकिएर जानेछन् भन्ने विचार नेपाली जनताको छ । यदि कुनै पनि राजनीतिक दलले बहुमत पाएको दम्भ देखाउँछन् भने उसको हालत पनि नेपाली जनताले अहिले जस्तै गरिदिने सुझाव दिएका छन् । यो कुरा सबैले हेक्का राख्नुपर्छ होला । म त समाजशास्त्री तथा सुशासन विज्ञ भएका नाताले होला, हरसमय समाजमा भएका गतिविधि सम्बन्धी संक्षिप्त अनुसन्धान गरी जनताको माझमा ल्याउने गरेको छु । स्थानीय समाजबाट शिक्षा लिने र दिने काम गर्दै आएको छु । मेरा लेख रचनामा समाजका आवाज आउने गर्दछन् । समयसापेक्ष नयाँ परिर्वतन र आधुनिक विकासमा विस्तार गर्न सुझाव दिँदै आएको छु ।
हिजोआजको नतिजाले युवाहरूलाई अग्रता दिनुपर्छ भन्ने सोच सबैको छ । अब त नेपालको निर्वाचनको नतिजा आउने क्रम जारी भएकाले कुन दललाई कुन स्थानमा नेपाली जनताले राखेको छ भनी अगाडि बढेको छ । लोकतन्त्रमा अन्तिम फैसला भनेको नै नेपाली जनताको हुने गर्दछ । सो फैसलालाई शीरोधार्य सबै राजनीतिक दलहरूले गर्नुपर्ने हुन्छ । सबै दलहरूले अहिलेको कमी–कमजोरी नसच्याउने हो भने सबै दलहरू अर्कोपटक झन् सकिने अवस्थामा पुग्नेछन् भन्ने टिप्पणी जनताको छ । हाल प्राप्त निर्वाचनको परिणामअनुसार राजनीतिक दलहरूले आफ्नो नेतृत्व र नीति–नियम परिवर्तन गरेनन् भने अर्कोपटक फेरि उस्तै नतिजा आउनेछ । तत्काल भएको बलात्कार र हत्याको प्रकरण जस्ता घटनाहरूप्रति कडाभन्दा कडा नियम बनाई अबदेखि देशमा यस्ता अपराधका प्रकरणमा मृत्युदण्ड सजाय पाउने भन्ने ऐन–कानून बनाई कार्यान्वयनमा ल्याउनुपर्छ ।
अब म हालसालै प्राप्त भएको निर्वाचनको नतिजा सम्बन्धी प्रकाश पार्दछु । वर्तमान प्रतिनिधि सभाका लागि २०८२ फागुन २१ गतेमा सम्पन्न आमनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करीब दुईतिहाइ सिटसम्ममा विजय हासिल गरेको छ । प्रत्यक्षमा १२५ सिट र समानुपातिकतर्फ ५७ सिटमा विजय हासिल गर्दा जम्मा १८२ सिट पुगेको छ भने अब दुईतिहाइ पुग्नका लागि २ सिट मात्र कम भएकाले अर्को दलबाट सहयोग लिनुपर्ने हुन्छ । ती २ सिटको पूर्ति स्वतन्त्र वा अन्य दलहरू हुने विश्वास गरिएको छ ।
नेपालको वर्तमान परिस्थितिमा पहिले त निर्वाचन हुन्छ कि हुँदैन भन्ने दोधार थियो । तर निर्वाचन शान्तिपूर्ण रूपले सम्पन्न भयो । निर्वाचनमा सुरक्षाकर्मीले खेलेको भूमिका महत्वपूर्ण थियो । त्यसका लागि सुरक्षामा खटिएका सम्पूर्ण टीमलाई नेपाली जनताले धन्यवाद दिएका छन् । अर्कोतर्फ राष्ट्रसेवक कर्मचारीहरूको महत्वपूर्ण भूमिका छ । रातदिन खटिएर आफ्नो जिम्मेवारी पूरा गरेकाले समयमा नै सफलता हासिल गरेकोमा राष्ट्रसेवकहरूलाई धन्यवाद दिएको छ । निर्वाचन आयोगको भूमिका सबैभन्दा महत्वपूर्ण थियो र देश–विदेशले स्याबासीका साथै धन्यवाद दिँदै आएको क्रम जारी नै छ ।
नेपालको वर्तमान निर्वाचन प्रणालीको जटिलताबिच पनि रास्वपाले सबभन्दा बढी बहुमत ल्याउनु भनेको चानचुने कुरो होइन । परम्परागत दलहरूप्रति नागरिकहरूमा फैलिएको निराश र आक्रोश, नयाँ र पुराना अनुभवी दल भन्दै गरिएको कित्ताकाट र २०८२ भदौ २३(२४ गतेको जेन्जी युवाहरूको आन्दोलनमा भएको घटना सम्बन्धी स्थानीय बजारमा कुरा हुँदाहँुदै पनि यस्तो परिणामले रास्वपालाई नेपाली जनताले मत दिने निर्णय गरेको रहेछ । यसको श्रेय रास्वपा दलको सम्पूर्ण टीमलाई जान्छ । स्थानीय जनताले सम्पूर्ण रास्वपाको टीमलाई हार्दिक बधाई दिएको छ । यसपालिको निर्वाचनले संसद्मा ऐतिहासिक पुस्तान्तरण भएको देखिन्छ । नेपाली जनताले छानीछानी युवाहरूलाई विजय गराएको छ । यसपालिको ंसंसद्मा ६० भन्दा बढी प्रतिशतले युवाहरूको उपस्थिति हुनेछ । नयाँ सासंदहरूलाई संसद्को अभ्यास सम्बन्धी अभिमुखीकरण दिनुपर्नेछ । यसपालिको परिणाम हेर्दा महिलाहरूको बर्चस्व प्रतिनिधि सभाको प्रत्यक्षतर्फ संसद्मा बढेको छ ।
पहिलेको इतिहास पल्टाउँदा २०१५ सालमा १ जना महिला प्रतिनिधि सभाको सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित द्वारिकादेवी ठकुरानी डडेल्धुरा क्षेत्र नम्बर ६६ बाट विजय भएकी थिइन् भने २०८२ फागुन २१ गतेको दिनमा प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १४ जना महिलाहरू निर्वाचित भएका छन् । क्रमबद्ध नामहरूः १) कल्पना घिमिरे नेपाल–डोटी, २) जुनु हमाल–डोल्पा, ३) सीता परियार–रुकुम पूर्व, ४) बिनु कुँवर–पाल्पा, ५) अजिता तिवारी–मुस्ताङ, ६) रुद्रादेवी शर्मा–कास्की, ७) स्किम श्रेष्ठ–सिन्धुली, ८) लीला केसी–सोलुखुम्बु, ९) रेखा कँडेल–खोटाङ, १०) सिर्जना थपलिया–संखुवासभा, ११) बन्दना राई–तेह्रथुम, १२) सोविता गौतम–चितवन, १३) रञ्जु दर्शना न्यौपान–काठमाडौं, १४) इन्दीरा रानामगर–झापा हुन् भने प्रत्यक्षतर्फको महिलाहरूको प्रतिनिधित्व जम्मा ८% पुगेको छ । यसले अझै महिलाहरूले आफ्नो जिम्मेवारी राजनीतिमा देखेका छैनन् । अझै महिलाहरूको चेतना अभिवृद्धि राजनीतिमा गर्नुपर्ने देखिन्छ । यसले महिलाहरूको सशक्तीकरणमा पूर्णता देखिँदैन । ६७ वर्षपश्चात पनि महिलाहरूको संख्या प्रत्यक्षतर्फ १ बाट १४ सम्म पुगेको छ । यसले महिलाहरूको प्रतिनिधित्व अझै धेरै कम भएको देखिन्छ । यसले समावेशितामा कमी–कमजोरी देखिएको छ । निर्वाचन आयोगले कडाभन्दा कडा नीति–नियम निर्माण गरी सबै राजनीतिक दलहरूलाई अनिवार्य रूपमा ३३ प्रतिशत सबैले पुर्याउनुपर्ने हुन्छ भन्नुपर्छ । प्रत्यक्षतर्फ पनि समानुपातिकतर्फ जस्तो नियम बनाई लागू गर्नुपर्छ ।
अर्कोतर्फ हेर्ने हो भने यस निर्वाचनमा जिल्ला सुरक्षाको कमान्डमा २ महिला प्रमुख थिए । जस्तैः १) बसुन्धारा खड्का झापा जिल्लाको प्रहरी प्रमुखको नेतृत्व सम्हाल्दै आएकी थिइन् । उनले प्रहरी उपरीक्षक (एसपी) को रूपमा जिल्लाको नेतृत्व सम्हालेकी थिइन् र सफलताका साथ आफ्नो कार्य समयमा सम्पन्न गरेकी थिइन् । २) छिरिङ्गकिप्पा लामा मुस्ताड जिल्लाको प्रहरी कार्यालयको नेतृत्व नायव उपरीक्षक (डीएसपी) को रूपमा सम्हाल्दै आएकी थिइन् । केन्द्रमा महिला प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान निर्वाचन सञ्चालन भएको थियो । धेरैजसो जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रूपमा कार्यरत महिला नै थिए । यसले महिलाहरूको विकास राम्रो भएको भएको देखिन्छ तर भने जस्तै समावेशी भएको पाइँदैन ।
यसपालिको निर्वाचनमा पुस्तान्तरण भएको देखिन्थ्यो । यसपालि २०८२ सालको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित सांसदहरू ५५ जनाको संख्या ३९ वर्षभन्दा कम उमेरका सांसद भएको इतिहास छ, यसले युवाहरूको ३३% पुगेको देखिन्छ ।
सोही उमेरका सांसद २०७९ सालको संख्या ९ जना थियो भने २०७४ सालमा १० जना निर्वाचित भएको इतिहास छ । यस नतिजाले पुस्तान्तरण निकै भएको देखिन्छ । २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक नक्सा नै बदलिदिएको छ ।
रास्वपाले १६५ प्रत्यक्ष सिटमध्ये १२५ सिट एक्लै जितेको इतिहास कायम गरिदियो । एउटा दलको यस्तो वर्चश्व नेपालको संसदीय निर्वाचनको इतिहासमा बिरलै भएको छ । तर यो केवल एउटा दलको विजय मात्र होइन, ३ दशकदेखि मुलुकको राजनीतिकमा वर्चश्व जमाउदै आएका स्थापित राजनीतिक शक्तिहरूको पराजयको कथाले बडो चिन्ता लागेको होला दलहरूलाई । यस विजय र पराजयको कथालाई निर्वाचन तथ्यांकमार्फत हेर्दा एउटा प्रमुख परिर्वतन संसद्मा आएको छ र यसले संसद्मा पुस्तान्तरण गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा निर्वाचनमार्फत भएको सबैभन्दा नाटकीय सत्ता हस्तान्तरणको दृश्यलाई देखाउँछ । पहिलेका शक्तिशाली राजनीतिक दलहरू यसपालि खुम्चिएकाले चिन्तामा छन् । सबै राजनीतिक दलहरूको मूल्यांकन नेपाली जनताले गरेको तथ्य हो ।
निर्वाचनमा रास्वपाले देशभर लहर ल्याएको देख्दा कर्णली प्रदेशमा भने उहीँ गतिका साथ विस्तार रहन सकेन, त्यो कमजोरी देखिएको छ । रास्वपाले पनि आफ्नो मूल्यांकन आफैँले गर्नुपर्ने देखिन्छ । अझै अर्को कुरा भन्ने हो भने रास्वपाको लहरमा छुटेको सीमान्तकृत समुदाय छन् । प्रत्यक्ष निर्वाचनमा संसद्मा खसआर्य समुदायको प्रतिनिधित्व बढेको देखिन्छ भने दलित, थारु, मधेशी र आदिवासी समुदायको उपस्थिति खुम्चिएको देखिन्छ । प्रत्यक्षतर्फको नतिजाले सिर्जना गरेको समावेशीको खाडललाई समानुपातिक प्रणालीले पनि पुर्न नसकिने सम्भावना देखिएको छ । सबै दलहरूले समानुपातिकतर्फ समावेशीको संख्या मिलाएर ल्याएमा बराबर हुने थियो । तर चेतनाको कमी भएर होला वा आर्थिकको अभावले होला, समावेशीको प्रतिनिधित्व ससद्मा हुन नसकेको परिणाम देखिएको छ ।
अझै नेपाली जनतालाई निर्वाचनको सही महत्वबारे चेतना नभएर होला, प्रतिनिधिसभा निर्वाचनमा करीब ६० प्रतिशत मतदान पुगेको थियो । जनतालाई अझै निर्वाचन शिक्षाको आवश्यकता देखिन्छ । करीब ५.४५ प्रतिशत मत बदर भएको तथ्यांक छ, त्यो पनि निर्वाचन शिक्षाको कमी हो । साथै सदर मतको ३ प्रतिशत कटाउने राजनीतिक दलहरूलाई सिट पाउने हक कानूनी व्यवस्थामा छ । त्यसको कानूनी जानकारी सबै दलहरूलाई थाहा छैन । निर्वाचन गरिने प्रक्रिया प्रतिनिधि सभाको प्रत्यक्षतर्फ र समानुपातिक तर्फको व्यवस्था सम्बन्धी सबै दलहरूलाई राम्रो शिक्षा दिन निर्वाचन आयोगको जिम्मेवारीमा पर्दछ । त्यसका लागि एक छुटै प्रशिक्षण दिने योजना तयार गरी समुदायदेखि केन्द्रसम्मको प्रशिक्षण कक्षा सञ्चालन गरी निर्वाचन हुनुभन्दा पहिले पूरा गर्नुपर्ने हुन्छ । यसपालिको समानुपातिक सफ्टवेयर बनाए जस्तै पार्टीको प्रत्यक्षतर्फ पनि त्यस्तो सफ्टवेयर तयार गरी सबैको ‘क्लस्टर’ पुगे/नपुगे जानकारी सोही समयमा भयो भने सो राजनीतिक दलले समावेशी तर्फका उम्मेदवार खोजी आफ्नो तयारी गर्दछ र त्यसमा महिला, पिछडिएको क्षेत्र, अपाङ्ग, आदिवासी जनजाति, दलित, थारु, मधेश, मुस्लिमको समावेशी बराबर पुग्नेछ । निर्वाचन आयोगको जिम्मेवारीमा थप कम्प्युटरको सफ्टवेयर तयार गरी बुझाउने प्रक्रिया लागू गर्नुपर्नेछ । यसपालिको निर्वाचनको प्रत्यक्षमा महिलाहरूको संख्या ३३ प्रतिशत नपुगेका कारण अन्त्यमा समानुपातिक सूचीमा पुरुषलाई घाटा लाग्ने नीति बनाएको छ । सबै क्लस्टरको सहभागिता बराबर गर्नका लागि निर्वाचनभन्दा पहिले नीति–नियम बनाई लागू गर्नुपर्ने देखिन्छ । समावेशीको स्तरमा कमी–कमजोरी देखियो ।
नेपालको निर्वाचन आयोग निकालेको अन्तिम नतिजा तल उल्लेख गरिएको छ । सबभन्दा बढी युवाहरूको पार्टी रास्वपा प्रत्यक्षमा १२५ सिट र समानुपातिकमा ५७ सिट गरी १८२ सिटमा जीत हासिल गरेको देखिन्छ । यस दलका प्रतिनिधिसभाका सदस्यहरूमध्ये ७५ प्रतिशत युवाहरूको प्रतिनिधित्व छ । जसमा ३३ प्रतिशतभन्दा बढी महिलाहरूको प्रतिनिधित्व छ । जनप्रतिनिधिको उमेर हेर्ने हो भने २५–७० वर्षसम्मको उमेरका व्यक्तिको समूह छ, जसमा २० प्रतिशत मेडिकल डाक्टर, २० प्रतिशत इन्जिनीयर, २० प्रतिशत पत्रकार तथा मिडियाको प्रतिनिधित्व, २० प्रतिशत विभिन्न विषयमा पीएचडी गरेका विज्ञहरू र २० प्रतिशत लामो समयसम्म दक्षता हासिल गरेका र समुदायको विकासमा ठूलो अनुभव हासिल गरेका व्यक्तिहरू समावेश छन् र जसको प्रमुख नेतृत्व ३५ वर्षको उमेरका व्यक्तिले गर्ने भएकाले देशको विकास राम्रो हुने विश्वास नेपाली जनताले गरेको पाइन्छ ।
नेपाली कांग्रेसले प्रत्यक्षमा १८ सिट र समानुपातिकमा २० सिट गरी ३८ सिटमा विजय गरेकाले संसद्मा रचनात्मक निगरानी तथा सकारात्क सुझाव तथा सल्लाह दिनका लागि प्रतिपक्षको भूमिका निभाउन जनताले आदेश दिएको छ । नेपाली कांग्रेस अनुभवी तथा पुरानो दल भएकाले समय–समयमा सरकारलाई ठीक ट्रयाकमा ल्याउने भूमिका दिएको छ । नेकपा एमालेले प्रत्यक्षमा ९ सिट र समानुपातिकमा १६ सिट गरी २५ सिटमा विजय प्राप्त गरेकाले प्रतिपक्षको भूमिका दिएको छ ।
नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकमा ९ सिट गरी १७ सिटमा विजय प्राप्त गरेकाले धेरै अनुभवी तथा पूर्व प्रधानमन्त्री समेतको नेतृत्वमा टीम गठन भई प्रतिपक्षको भूमिका निर्वाह गर्नका लागि नेपाली जनताले मत दिएको छ । त्यसैगरी श्रम संस्कृति दललाई प्रत्यक्षमा ३ सिट र समानुपातिकमा ४ सिट गरी जम्मा ७ सिटमा विजय प्राप्त गरेको छ र प्रतिपक्षको भूमिका दिएको छ । पूर्व मेयरको नेतृत्वमा टीम विजय गरेको कारण संसद्मा नयाँ विकासका लागि समय–समयमा घच्घच्याउने जिम्मेवारी दिएको छ । राप्रपालाई प्रत्यक्षमा १ सिट र समानुपातिकमा ४ सिट गरी जम्मा ५ सिटमा विजय प्राप्त गरेकाले पूर्व सांसद ज्ञानेन्द्र शाही जस्ता युवाहरूले राम्रा विकासका कुरा संसद्मा निकाल्नका लागि नेपाली जनताले जनप्रतिनिधित्व गराएको छ । अन्यमा देशका महान् विद्वान पूर्व शिक्षा मन्त्री महावीर पुनलाई स्वतन्त्रबाट प्रत्यक्षमा विजय गराएर संसद्मा उपस्थितिका लागि पठाएको छ । विजय प्राप्त गरेका २७५ प्रतिनिधिसभा सदस्यबारे राम्रो विश्लेषण स्थानीय जनताले गरेको छ । सोअनुसार ५ वर्षका लागि राम्रो काम गरी जनताको विश्वास जित्ने आशा गरेको छ । देशमा भएका विषय विज्ञहरूको सहयोग सरकारले लिई राम्रो वातावरण सिर्जना गर्न सक्ने मौका आएको छ । नेपाली जनताको भनाइअनुसार नआत्तिनु र नमात्तिनु होला भन्ने सुझाव अग्रिम दिन चाहन्छौ भनेका छन् । नेपाली जनताको इज्जत राखी काम राम्रोसँग गर्नु भन्ने विश्वास लिएका छन् ।
छिट्टै सरकारको प्रतिनिधित्व चुस्त र दुरुस्त गर्नुहोला । तल उल्लेखित क्रियाकलापमा ध्यान दिई जनताका माग पूरा गर्नुहोला । नेपाली जनताले दिएको मतको कदर गरी विकासका काममा खटिनुहोला भन्ने सुझाव छ । रास्वपाले गर्नुपर्ने कार्य प्रस्तुत गरिएका छन् :
१) सुशासनको स्थापना र भ्रष्टाचारको अन्त्यका लागि कडा नीति–नियम निर्माण र प्राविधिक एपस् विकासले एकै पटकमा अन्त्य गर्नुपर्नेछ ।
२) महिला बलात्कार र हिसां सम्बन्धी कडाभन्दा कडा नीति–नियम निर्माणसहित कडा सजायका साथै अन्त्य गर्नुपर्नेछ ।
३) बेरोगारीको अन्त्य गरी सीपमूलक स्वरोगारी स्थापना गरी सबै युवाहरूलाई स्वदेशमा नै रोजगार बनाउने व्यवस्थामा पहल गर्नुपर्नेछ ।
४) आधुनिक कृषि क्रान्तिको माध्यमले नेपालमा भएका खाली नाङ्गा डाँडाकाँडाहरूमा आधुनिक अर्ग्यानिक खेतीको उत्पादन बढाउनका साथै नेपाली युवाहरूलाई सहभागी गराउनुपर्नेछ ।
५) समृद्धि ल्याउनका लागि पर्यटन विकासको माध्यमले हरिता पर्यटन स्थापना गर्ने र देशका सम्पूर्ण बेरोजगारहरूलाई काम दिने र आर्थिक विकास गर्नुपर्नेछ ।
६) प्राविधिक शिक्षाको स्थापना गरी देशका युवाहरूलाई प्राविधिक शिक्षा दिई देशमै साना, मझौला र ठूला उद्योगधन्दा खोलेर देशमा विभिन्न विषयमा उत्पादन बढाई देशको आर्थिक स्रोत बढाउनुपर्नेछ ।
७) समुदाय स्वास्थ्य प्रणालीअनुसार घरघर तथा समुदायमा स्वास्थ्य सेवा दिने व्यवस्था मिलाउने र सबैको पहँुच स्वास्थ्यमा पुग्ने व्यवस्था गर्नुपर्ने हुन्छ ।
निर्ष्कषमा २०८२ फागुन २१ गते भएको निर्वाचनले राम्रो काम गरेको छ । यसपालिको सरकार गठनमा कम समय लाग्ने व्यवस्था नेपाली जनताले तयार गरिदिएको छ । रास्वपा दलले माथि उल्लेखित सुझावहरूलाई शीरोधार्य गरी अगाडि बढेमा सबै काम सफल हुँदै जानेछ । रास्वपाले ६ महिनाभित्र १–२ एजेन्डालाई कार्यान्यनमा ल्याउने विषय अगाडि बढाएमा मात्र नेपाली जनता खुशी भई आफूले दिएको मतको महत्व भएको बुझ्नेछन् । देशमा भएका विज्ञहरूको खोजी गरी विभिन्न जिम्मेवारीमा नियुक्ति गरी आफ्नो टीममा सहभागी गर्नुपर्ने हुन्छ । म पनि समाजशास्त्र र सुशासन विकास गर्ने विज्ञ भएकाले वर्तमान गठन भएको नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि देखाउँछु ।
(अनुसन्धानकर्ता डा. सिंह हार्ट क्लब नेपाल ललितपुर जिल्लाका सभापति हुन् ।)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



























