संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरिरहेको बढ्दो सैन्य आक्रमण परमाणु प्रसार, प्रतिरोध र क्षेत्रीय सुरक्षाका लागि भएको बताउँदै आएका छन् । तर हालैका घटनाक्रमहरूले अर्कै पुरानो तर्कले काम गरिरहेको संकेत गर्छन् । यसको गहिरो उद्देश्य इरानलाई कमजोर बनाउनु वा शासन परिवर्तन गराउनु मात्र होइन, बरु विश्वव्यापी पुँजीवादी अर्थतन्त्रको प्राणवायु तेलको गतिशीलतालाई सुरक्षित राख्नु हो ।
इरानको मुख्य तेल निर्यात टर्मिनल रहेको खर्ग टापुमा हालै भएको अमेरिकी आक्रमणलाई विचार गरौँ । यो टापु खाडीको तट नजिकै हर्मोज जलसन्धिको छेउमा अवस्थित छ, जहाँबाट विश्वको झण्डै एक–पाँचौ हिस्सा तेल दैनिक रूपमा ओसारपसार हुन्छ । त्यहाँ हुने कुनै पनि अवरोधले विश्वव्यापी ऊर्जा बजारमा तत्कालै ठूलो प्रभाव पार्नेछ । हालैका रिपोर्टहरूले उक्त जलसन्धिमा अवरोध हुने खतराप्रति तेलको मूल्य कति संवेदनशील छ भन्ने कुरालाई उजागर गरेका छन् ।
यद्यपि खर्ग टापुको आक्रमणको सबैभन्दा खुल्ने पक्ष यो होइन कि त्यहाँ आक्रमण भयो, बरु यो हो कि के कुरालाई जानीजानी सुरक्षित छोडियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा यस अपरेसनको उत्सव मनाउँदै अमेरिकी सेनाले टापुका हरेक सैन्य लक्ष्य ध्वस्त पारेको घोषणा गरे । उनले तेलका पूर्वाधारहरूलाई भने नछोएकोमा जोड दिए । ‘ट्रुथ सोसल’मा लेख्दै ट्रम्पले आफूले टापुमा रहेको तेल पूर्वाधारलाई सखाप नपार्ने निर्णय गरेको बताए र यदि इरानले हर्मोज जलसन्धिमा ढुवानीलाई खतरामा पारेमा यो संयमता परिवर्तन हुन सक्ने चेतावनी दिए ।
यो भिन्नता अर्थपूर्ण छ । खर्ग टापुले इरानको कच्चा तेल निर्यातको ठूलो हिस्सा सम्हाल्छ । यसको तेल टर्मिनलहरू नष्ट गर्दा विश्वव्यापी आपूर्तिमा नाटकीय रूपमा अवरोध पुग्ने थियो र सम्भवतः मूल्य आकाशिने थियो । त्यसको सट्टा, वासिङ्टनले सन्तुलित आक्रमण रोज्योः ऊर्जा पक्षलाई पक्षघात नगरी सैन्य क्षति पुर्याउने ।
यसको अर्थ बेवास्ता गर्न गाह्रो छ । अमेरिका इरानलाई सैन्यरूपमा कमजोर बनाउन तयार छ तर विश्वव्यापी अर्थतन्त्रलाई टिकाइराख्ने तेलको प्रवाह कायम राख्न भने ऊ अझै पनि गहिरो रूपमा प्रतिबद्ध छ ।
ऊर्जा सुरक्षाले लामो समयदेखि खाडी क्षेत्रमा अमेरिकी रणनीतिलाई निर्देशित गर्दै आएको छ । सन् १९८० को ‘कार्टर डक्ट्रिन’देखि नै वासिङ्टनले खाडीको ऊर्जा पूर्वाधारलाई रणनीतिक प्राथमिकताको रूपमा व्यवहार गर्दै आएको छ, जसले क्षेत्रको तेल आपूर्तिलाई अमेरिकाको महत्वपूर्ण हितको रूपमा घोषणा गरेको थियो । इरानले हर्मोज जलसन्धिबाट हुने ढुवानीमा प्रतिबन्ध लगाउन सक्ने सम्भावना विश्वव्यापी अर्थतन्त्रका लागि सबैभन्दा अस्थिर जोखिमहरूमध्ये एक हो ।
यस दृष्टिबाट हेर्दा, खर्ग टापुको आक्रमण पूर्ण युद्धतर्फको कदमभन्दा पनि एउटा संकेत जस्तो देखिन्छ । इरानको सैन्य क्षमतालाई निशाना बनाइला तर विश्वव्यापी अर्थतन्त्रको आधारस्तम्भ रहेको तेल पूर्वाधार भने एउटा संरक्षित सम्पत्तिको रूपमा रहन्छ ।
खर्ग आक्रमणलाई छुट्टै रूपमा हेर्दा यसलाई तनाव व्यवस्थापनको रूपमा बुझ्न सकिन्छ । तर यसलाई वासिङ्टनले विभिन्न क्षेत्रमा गरिरहेका अन्य व्यवहारहरूसँग जोडेर हेर्दा एउटा सुसंगत तर्क देखिन थाल्छ ।
यो तर्क ट्रम्प प्रशासनका अन्य हालैका कदमहरूसँग जोडेर हेर्दा अझ प्रष्ट हुन्छ । उदाहरणका लागि, भेनेजुएलामा वासिङ्टनले राष्ट्रपति निकोलस मादुरोसँगको टकरावलाई तीव्र बनाएको छ । अमेरिकी अधिकारीहरूले आफ्नो दबाब अभियानलाई लोकतन्त्र र भ्रष्टाचारको सन्दर्भमा व्याख्या गरे तापनि भेनेजुएलासँग विश्वको सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार छ । त्यसैले भेनेजुएलाको राजनीतिक भविष्यमाथिको नियन्त्रण त्यहाँको तेल कसरी र कहाँ उत्पादन र बिक्री हुन्छ भन्ने नियन्त्रणसँग अभिन्न रूपमा जोडिएको छ ।
यदि काराकासमा अझ बढी अमेरिका समर्थक सरकार उदय भयो भने भेनेजुएलाको तेल उद्योगलाई पश्चिमी बजार र लगानीतर्फ पुनः अभिमुखीकरण गर्न सकिन्छ । त्यस अर्थमा यो द्वन्द्व केवल वैचारिक मात्र होइन, गहिरो रूपमा भौतिक पनि हो । वास्तवमा विश्लेषकहरूले औँल्याएका छन् कि वासिङ्टनले लामो समयदेखि भेनेजुएलाको तेल क्षेत्रलाई अमेरिकी आर्थिक हितसँग मिल्ने गरी पुनःसंरचना गर्न खोजिरहेको छ ।
यही तर्क रूसी तेलप्रतिको वासिङ्टनको परिवर्तनशील अडानमा पनि देख्न सकिन्छ । मस्कोलाई रणनीतिक प्रतिद्वन्द्वीको रूपमा चित्रण गरिरहँदा पनि, अमेरिकी नीति निर्माताहरूले विश्वव्यापी ऊर्जा बजारलाई स्थिर बनाउन र मूल्य वृद्धि रोक्न हालै रूसी कच्चा तेल निर्यातमा लगाइएका केही प्रतिबन्धहरूलाई खुकुलो पारेका छन् । तेलको प्रवाह जोखिममा पर्दा रणनीतिक प्रतिद्वन्द्वीसँगको टकरावलाई समेत पुनः समायोजन गरिन्छ । यो कदमले एउटा व्यापक यथार्थलाई जोड दिन्छः ऊर्जा प्रवाहलाई स्थिर राख्ने सर्वोपरि आवश्यकताका अगाडि भू–राजनीतिक प्रतिद्वन्द्वीहरू प्रायः पछि हट्छन् । चाहे स्रोत रूस होस्, भेनेजुएला होस् वा फारसको खाडी, प्राथमिकता एउटै रहन्छ, तेलको प्रवाह जारी राख र विश्वव्यापी अर्थतन्त्र चलाइराख । यो ढाँचा तेलभन्दा बाहिर पनि फैलिएको छ ।
अहिले यही आवश्यकता तेलबाट अघि बढेर भविष्यको ऊर्जा र प्राविधिक प्रणालीका आधार मानिने महत्वपूर्ण खनिजहरूसम्म पुगेको छ । ट्रम्पले ग्रीनल्याण्ड प्राप्त गर्ने विचारलाई बारम्बार ब्युँताएका छन्, जुन क्षेत्रमा दुर्लभ खनिजहरूको विशाल भण्डारका साथै यसको आर्कटिक समुद्री सतह मुनि महत्वपूर्ण ऊर्जा स्रोतहरू हुन सक्ने विश्वास गरिन्छ । प्राविधिक प्रतिस्पर्धा र ऊर्जा संक्रमणले परिभाषित गरेको विश्वमा यी स्रोतहरू झन् मूल्यवान भएका छन् ।
वासिङ्टनले युक्रेनको दुर्लभ खनिजहरूमा पहुँचका लागि आक्रामक रूपमा दबाब दिएको छ, जुन उन्नत इलेक्ट्रोनिक्स, नवीकरणीय ऊर्जा प्रविधि र सैन्य प्रणालीका लागि आवश्यक छन् । यी खनिजहरू महत्वपूर्ण उद्योगहरूका लागि आपूर्ति श्रृंखला सुरक्षित गर्न खोजिरहेका ठूला शक्तिहरूका लागि केन्द्रीय रणनीतिक चासो बनेका छन् ।
यी सबै उदाहरणहरूमा विश्वव्यापी अर्थतन्त्रलाई टिकाउने स्रोत र पूर्वाधारहरूमाथि नियन्त्रण सुरक्षित गर्ने एउटा निरन्तर प्रयास देखिन्छ । यी सबै कदमहरूलाई एकसाथ हेर्दा एउटा सुसंगत भूराजनीतिक रणनीति देखिन्छ । ट्रम्पको परराष्ट्र नीति झन्–झन् ‘उत्खननकारी साम्राज्यवाद’ विश्वव्यापी पुँजीवादलाई शक्ति दिने स्रोतहरूमाथि नियन्त्रण सुरक्षित गर्ने प्रयासद्वारा निर्देशित भएको देखिन्छ ।
यस प्रणालीमा तेल अझै पनि केन्द्रमा छ । नवीकरणीय ऊर्जा संक्रमणका बारेमा दशकौँसम्म बहस भए पनि हाइड्रोकार्बनले अझै पनि विश्वको ऊर्जा आपूर्तिमा प्रभुत्व जमाइरहेको छ । विश्वव्यापी व्यापार, यातायात र उद्योग कच्चा तेल र प्राकृतिक ग्यासको स्थिर प्रवाहमा गहिरो रूपमा निर्भर छन् ।
तेलको गतिशीलतालाई सम्भव बनाउने पूर्वाधारहरू पाइपलाइन, निर्यात टर्मिनल, ढुवानी मार्ग र रिफाइनरीहरू विश्वव्यापी अर्थतन्त्रका सबैभन्दा रणनीतिक रूपमा संरक्षित तत्वहरू बनेका छन् । खर्ग टापुको आक्रमणले यो गतिशीलतालाई असामान्य स्पष्टताका साथ चित्रण गर्छ । सैन्य सम्पत्तिहरू निशाना बने, तेल पूर्वाधार बनेनन् । हिंसालाई सावधानीपूर्वक सन्तुलित गरिएको थियो, ताकि विश्वव्यापी अर्थतन्त्र निर्भर रहेको ऊर्जाको चक्रमा अवरोध नआओस् ।
इरानसँगको युद्धलाई प्रायः परमाणु हतियार वा क्षेत्रीय प्रभावको संघर्षको रूपमा चित्रण गरिन्छ । ती चिन्ताहरू पक्कै पनि महत्वपूर्ण छन् । तर तीभन्दा मुनि एउटा अझ आधारभूत भूराजनीतिक उद्देश्य लुकेको छः विश्वव्यापी आर्थिक व्यवस्थालाई जीवित राख्ने ऊर्जाका धमनीहरूलाई सुरक्षित राख्नु ।
यहाँ दाउमा लागेको कुरा केवल राज्यहरूबिचको द्वन्द्व मात्र होइन, बरु एउटा यस्तो विश्वव्यापी प्रणालीको व्यवस्थापन हो, जसले आफ्नै ऊर्जा जीवनरेखाहरूमा हुने अवरोधलाई सहन सक्दैन ।
तेलले लामो समयदेखि मध्यपूर्वको भूराजनीतिलाई आकार दिँदै आएको छ । खर्ग टापुको घटनाले यो अझै पनि कायमै रहेको देखाउँछ । सुरक्षा र प्रतिरोधका चर्का भाषणहरूभन्दा मुनि एउटा परिचित साम्राज्यवादी आवश्यकता लुकेको छः तेललाई बगाइराख । (लेखक कपुर टोरन्टोस्थित योर्क विश्वविद्यालयको इन्भायरोमेन्टल एण्ड जेन्टल चेन्ज संकायमा क्रिटिकल डेभलपमेन्ट स्टडिजका प्राध्यापक हुन् ।)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




























