टी–२० विश्वकप विवाद : बंगलादेशलाई अन्तिम निर्णयका लागि आईसीसीको एक दिनको अल्टिमेटम

टी–२० विश्वकप विवाद : बंगलादेशलाई अन्तिम निर्णयका लागि आईसीसीको एक दिनको अल्टिमेटम

काठमाडौं । सन् २०२६ आईसीसी पुरुष टी–२० विश्वकपलाई लिएर भारत र बंगलादेशबीच देखिएको विवाद निर्णायक मोडमा पुगेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई भारतमा गएर प्रतियोगिता खेल्ने वा विश्वकपबाट बाहिरिने भन्ने विषयमा अन्तिम निर्णय गर्न थप एक दिनको समय दिएको छ । आईसीसीले स्पष्ट चेतावनी दिँदै बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेमा उसको स्थानमा अर्को टोलीलाई सहभागी गराइने जनाएको छ ।

बुधबार सम्पन्न आईसीसी बोर्ड बैठकमा यस विषयमा विस्तृत छलफल र मतदान भएको थियो । बैठकमा उपस्थित १५ निर्देशकहरूमध्ये पाकिस्तानबाहेक सबैले बंगलादेशको स्थानमा प्रतिस्थापन टोली ल्याउने प्रस्तावलाई समर्थन गरेका थिए । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने बीसीबीको अडानको पक्षमा उभिँदै आईसीसी र अन्य सदस्य राष्ट्रहरूलाई औपचारिक पत्राचार गरेको थियो ।

आईसीसी अध्यक्ष जय शाहको अध्यक्षतामा बसेको बैठकमा सबै पूर्ण सदस्य राष्ट्रका उच्च अधिकारीहरूको सहभागिता थियो । बैठकमा बीसीबी अध्यक्ष अमिनुल इस्लाम, बीसीसीआई सचिव देवजीत सैकिया, श्रीलंका क्रिकेट अध्यक्ष शम्मी सिल्भा, पीसीबी अध्यक्ष मोहसिन नक्वी, क्रिकेट अस्ट्रेलिया अध्यक्ष माइक बेयर्डलगायत सहभागी थिए । साथै आईसीसी सीईओ सञ्जोग गुप्ता, उपाध्यक्ष इमरान ख्वाजा तथा आईसीसी एन्टी–करप्सन युनिट प्रमुख एन्ड्र्यु एफग्रेभ पनि बैठकमा उपस्थित थिए ।

आईसीसीले बैठकपछि जारी गरेको विज्ञप्तिमा भारतमा आयोजना हुने विश्वकपका सबै खेल स्थलहरूमा गरिएको स्वतन्त्र सुरक्षा मूल्यांकनमा बंगलादेशी खेलाडी, अफिसियल, मिडिया र समर्थकहरूका लागि कुनै पनि विश्वसनीय वा प्रमाणित खतरा नरहेको निष्कर्ष आएको उल्लेख गरेको छ । प्रतियोगिता सुरु हुनै लाग्दा तालिका वा स्थान परिवर्तन गर्नु व्यवहारिक नभएको र यसले भविष्यका आईसीसी प्रतियोगितामा गलत नजिर बस्ने चेतावनी पनि आईसीसीले दिएको छ ।

आईसीसीका अनुसार पछिल्ला केही सातादेखि बीसीबीसँग निरन्तर संवाद हुँदै आएको थियो । संघीय तथा राज्यस्तरीय सुरक्षा प्रत्याभूति, विस्तृत सुरक्षा योजना र स्वतन्त्र प्रतिवेदनहरू उपलब्ध गराइए पनि बीसीबी आफ्नो निर्णयमा अडिग रहँदै आएको छ ।

जनवरी ४ मा बंगलादेश सरकारले सुरक्षा कारण देखाउँदै भारत नजाने निर्णय आईसीसीलाई जानकारी गराएको थियो । यो निर्णय आईपीएल २०२६ का लागि कोलकाता नाइट राइडर्सले बंगलादेशी तीव्र बलर मुस्ताफिजुर रहमानलाई टोलीबाट रिलिज गर्न निर्देशन दिएको घटनासँग जोडिएको बताइएको छ, यद्यपि त्यसको स्पष्ट कारण सार्वजनिक गरिएको थिएन ।

बीसीबीले भारतको सट्टा श्रीलंकामा खेल्न तथा आफ्नो समूह आयरल्याण्डसँग साट्न प्रस्ताव गरे पनि आईसीसीले ती सबै प्रस्ताव अस्वीकार गरिसकेको छ । बंगलादेश टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ नेपाल, इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटाली पनि छन् । बंगलादेशले फेब्रुअरी ७, ९ र १४ मा कोलकातामा तथा फेब्रुअरी १७ मा मुम्बईमा खेल्ने तालिका छ ।

यदि तोकिएको समयसीमाभित्र बंगलादेशले अन्तिम निर्णय नदिएमा, टोलीको स्थानमा स्कटल्याण्ड लाई विश्वकपमा सहभागी गराइने सम्भावना बलियो बनेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।